अविनाश चौधरी
धनगढी, फागुन ३ गते । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचन घोषणा गरेको छ ।
सचिवालयले फागुन ४ गते भोलि हुने गरी समितिका सभापतिहरूको निर्वाचन घोषणा गरेको हो । त्यसका लागि चुनावी प्रक्रिया आजबाट सुरु हुने प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो ।
सचिवालयले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज मतदाता प्रदेश सभा सदस्यहरूको नामावली प्रकाशन गर्ने, मतदाता नामावली उपर दाबी विरोध, अन्तिम मतदाता नामावली प्रकाशन र सभापति पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव दर्ताको तालिका रहेको छ । यसै गरी, फागुन ४ गते प्रस्तावित सभापतिको उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने र समितिका सभापतिको निर्वाचनका लागि सम्बन्धित समितिको बैठक प्रारम्भ र निर्वाचन मत परिणाम घोषणा गर्ने तालिका रहेको छ ।
यसै गरी, विशेषाधिकार समितिको निर्वाचनको मत परिणाम घोषणाका लागि समितिको बैठक फागुन ४ गते दिनको २ः३० बजेटबाट सञ्चालन हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
यसअघि, सभामुख भीमबहादुर भण्डारीले गत माघ १८ गते दोस्रो पटक सभापतिको निर्वाचन तय गर्नु भएको थियो । तर, विशेषाधिकार समितिको सभापतिको निर्वाचन छुटेपछि नेपाली काँग्रेसको आग्रहमा निर्वाचन स्थगित गरिएको थियो । यस पटक विशेषाधिकार समितिका सभापतिको निर्वाचन पनि समेटिएको छ ।