• २८ फागुन २०८१, बुधबार

कर्णाली प्रदेशको अर्धवार्षिक समीक्षा : कामको गति बढाउन निर्देशन

blog

कर्णाली प्रदेश सरकारको छ महिने अर्धवार्षिक समीक्षा कार्यक्रम ।

सुर्खेत समाचारदाता

सुर्खेत, फागुन ३ गते । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुससम्म छमहिने कामको अर्धवार्षिक समीक्षा गरेको छ । मुख्यमन्त्री यामलाल कँडेलको उपस्थितिमा विभिन्न मन्त्री, मन्त्रालयका सचिवको उपस्थितिमा छ महिनाको कामको समीक्षा गरिएको हो । समीक्षामा चालु आवको छ महिनामा कर्णालीको कुल बजेटको १५ प्रतिशत मात्र खर्च भएको जानकारी गराइएको छ । 

कर्णालीको कुल बजेट ३१ अर्ब ४१ करोड रहेकोमा पुस मसान्तसम्म चार अर्ब ७५ करोड ४६ लाख ६२ हजार खर्च भएको छ । यो अवधिमा सबैभन्दा धेरै खर्च मुख्य न्यायाधिवक्ताको कार्यालयले ४० प्रतिशत खर्च गरेको छ । सो अवधिमा प्रदेश सरकारले १९ करोड ९९ लाख आन्तरिक आम्दानी गरेको छ । साथै प्रदेश सरकारको सञ्चिति खातामा ११ अर्ब ४८ करोड ७२ लाख ३१ हजार रुपियाँ रहेको जानकारी गराइएको छ । 

समीक्षामा मुख्यमन्त्री यामलाल कँडेलले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको कार्यप्रगति उत्साहजनक रहेकाले यही गति कायम राख्दै आयोजना सम्पन्न भएका निर्माण व्यावसायीलाई कामको मूल्याङ्कनका आधारमा भुक्तानी दिन निर्देशन दिनुभयो । उहाँले पर्यटन र उद्योगको जनशक्ति र कार्यक्रमको आयोजना विस्तार गरी आम्दानी बढाउने र अबका दिनमा ‘एग्रो फरेस्ट्री’ को सोचमा जानुपर्ने उल्लेख गर्नुभयो । साथै प्रदेश सरकारले बनाएका पर्यटकीय क्षेत्रका संरचना स्थानीय तहलाई हस्तान्तरण गरी त्यहाँ उठाउने महसुलको केही प्रतिशत प्रदेशमा ल्याउने कार्यविधि बनाउन पनि उहाँले सुझाव दिनुभयो । 

यसै गरी १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै गर्नुपर्नेमा प्रदेश सरकारको एकमत रहेकाले खेलकुदमा कर्णाली प्रदेशका विषयगत खेलाडीको सिप विकास, तालिम र अन्य व्यवस्थापनका लागि विषयगत कार्यक्रम र आवश्यक बजेट समयमै माग गर्न पनि उहाँले आग्रह गर्नुभयो । 

मुख्यमन्त्री कँडेलले प्रदेश सभालाई बिजनेस दिन र आवश्यक कानुन निर्माणका लागि पनि विधायिकाको काम प्रभावकारी बनाउन जोड दिनुभयो । चालु आवको समयसीमा अब चार/पाँच महिना मात्र बाँकी रहेकाले कामको गति बढाउन उहाँले निर्देशन दिनुभयो । हालसम्म बजेट कार्यान्वयनमा देखिएका कमजोरी र सिकाइ व्यवस्थापन सुधार गर्न तत्काल कार्ययोजना बनाउनुपर्ने भनाइ उहाँको थियो ।