चारैतिर पहाडको टाकुरा भएको सुन्दर ठाउँ । तराईको मैदानी फाँट चौमालाबाट केही समयको उकालो ओरालोपछि पुग्न सकिने । त्यो हो, चुरे गाउँपालिकाको गर्भा गाउँ । यो गाउँ सानो छ तर प्राकृतिक हिसाबले सुन्दर छ । रमणीय र मनमोहक छ । यहाँको प्राकृतिक दृश्यले जो कोहीलाई पनि आकर्षित गर्छ । शान्त वातावरण, लोभलाग्दो कृषि उपज । गाउँभरि सुन्तलाका बगैँचा छन् । हिउँदमा लटरम्म सुन्तला फलेर पहेँलपुर देखिन्छ । गर्भाको यो दृश्यले तत्कालीन राणा शासकलाई समेत आकर्षित गरेको थियो । फलस्वरूप यो गाउँलाई राणाले जग्गाजमिन मात्रै होइन, ऐतिहासिक सम्पत्ति पनि सुम्पेर गएका छन्, त्यो हो शमशेरगन्ज दरबार ।
गर्भामा रहेको दरबारलाई धेरैले राणाकालीन गर्भा दरबार भनेर चिन्ने गरे पनि दरबारको वास्तविक नाम त्यो होइन । राणाले यस दरबारको नाम शमशेरगन्ज दरबार राखेका थिए । गर्भा गाउँमा भएका कारण पछि मानिसले यसलाई गर्भा दरबार भन्न थाले । गर्भा गाउँवासी एवं सेवानिवृत शिक्षक नारायण योगीका अनुसार जर्नेल बहादुरशमशेर राणाले शमशेरगन्ज दरबार बनाएका हुन् । विक्रम संवत् १९४४ तिरबाट निर्माण सुरु भएको यो दरबार कैयौँ पटक भत्किने र बनाउने क्रम चलेको थियो । दरबारको निर्माण कार्य विसं १९८४ मा पूरा भएको थियो । पछि जर्नेल बहादुरशमशेरका सन्तानबिच भागबन्डा भएपछि नौ रोपनी जग्गाभित्र बनेको दरबार र बाँकी रहेको जग्गा तेजप्रकाश राणाको भागमा परेको थियो । “तेजप्रकाशलाई यहाँ आएको तीन चोटी मैले पनि देखेको हुँ,” ६० वर्षीय पूर्वशिक्षक योगीले भन्नुभयो, “उनी यहाँ आउँदा दरबारमा ८/१० दिनदेखि आधा महिनासम्म बसेर जान्थे ।”
त्रियासी झ्याल, पचपन्न ढोका
शमशेरगन्ज दरबार कलात्मक थियो । ८३ झ्याल र ५३ ढोका भएको दरबार तीन तले रहेको थियो । दरबारमा रामायणका श्लोकका साथै बाघ, घोडाको चित्रसमेत बनाइएको थियो । दरबार निर्माणमा सिमेन्ट प्रयोग नभएको पूर्वशिक्षक योगीको भनाइ छ । उहाँका अनुसार इँटा जोड्नका लागि बाहिरपट्टि चुना र इँटाको धुलो पिसेर लगाइएको थियो । भित्रतर्फ भने गहुँको भुसा र माटोले लिपपोत गरिएको थियो । यो दरबार जर्मनीमा बनेको जस्तापाताले छाइएको छ । जस्तापाता बलियो रहेको र त्यो अझै प्रयोग गर्न सकिने जनाइएको छ ।
बासका लागि बनाइएको दरबार
तत्कालीन समयमा डोटीको सिलगढी, कैलालीको गर्भा र चौमालामा तेजप्रकाश राणाको ओहोरदोहोर भइरहन्थ्यो । यी तीन वटै ठाउँमा राणाले दरबार बनाएका थिए । यद्यपि, चौमालाको दरबार अहिले अस्तित्वमा छैन । चौमालामा इँटा भट्टा बनाएर राणाहरूले त्यहाँ सबैभन्दा पहिले इँटाको प्रयोग गरेर दरबार बनाएको बताइन्छ । त्यसबेला त्यहाँ अरू कुनै पनि घर इँटाले बनेका थिएनन् । राणाले दरबारमा आउजाउ गर्न छोरेपछि चौमालामा रहेको दरबारको इँटा एक सेठ (व्यापारीले) किनेको जनाइएको छ । राणाले तीन ठाउँमध्ये गर्भामा शमशेरगन्ज दरबार बस्न र मोजमस्ती गर्नका लागि बनाएको पूर्वशिक्षक योगीको भनाइ छ । तेजप्रकाश दरबारमा आएर बस्दा स्थानीयवासीको बाख्रा लिएर खाने, मोजमस्ती गर्ने कार्य गर्ने गरेको उहाँको भनाइ छ । “यो ठाउँ सुन्दर, आकर्षक छ,” योगीले भन्नुभयो, “त्यसैले सिलगढी, कैलाली ओहोरदोहोरको क्रममा तेजप्रकाश शमशेरगन्ज दरबारमा बस्ने गरेका थिए ।”
तराईसम्म आउजाउ हुने गर्भाको मार्ग
अहिलेसम्म राम्रो बाटो नबने पनि तत्कालीन समयमा गर्भाको बाटो तराईसम्म आउजाउका लागि लाइफलाइन सडक नै मानिन्थ्यो । शमशेरगन्ज दरबार भएर कालीकोट, अछाम, बाजुरा, जुम्लाका मानिस तराईसम्म ओहोरदोहोर गर्ने गर्दथे । त्यसबेला बाटो निकै चलेको बताइन्छ । बाटोमा भेटिएका मान्छेलाई छोपेर राणाले गर्भा गाउँमा काम लगाउने गर्दथे । बटुवाहरूलाई छोपेर जबरजस्ती विभिन्न काममा लगाउने गरे पनि राणाले श्रमको मूल्य भने उनीहरूलाई दिएको बताइन्छ । योगीका अनुसार गर्भामा हाल त्यहाँका स्थानीय बासिन्दाको नाममा रहेको सबै जग्गा पनि तत्कालीन समयमा राणाको नाममा थियो । त्यो जग्गा कतिपयले राणालाई खुसी बनाएर, कतिपयले कब्जा गरेर उपभोग गर्न थाले । पछि नापी आउँदा राणाले वारेस पठाएर त्यो सबै जग्गा उपभोग गर्ने व्यक्तिको नाममा नामसारी गरी दिए ।
पचास हजारमा दरबार खरिद
कुरा २०३९/४० साल तिरको हो । राणाले बस्न छोडिसकेपछि शमशेरगन्ज दरबार खाली थियो । त्यसबेला तत्कालीन खैराला गाउँ पञ्चायतलाई गाविस भवन निर्माणका लागि जिल्ला पञ्चायतले ५६ हजार रुपियाँ दिएको थियो । त्यति बजेटले अन्यत्र सबैतिर गाविस भवन बने पनि तत्कालीन खैराला गाउँ पञ्चायतका प्रधानपञ्च कर्णबहादुर बोगटीले त्यति पैसा भवन निर्माण गर्न नपुग्ने भन्दै राणाले बनाएको खाली दरबार किन्ने निर्णय गर्नुभयो । त्यसबेला दरबारका मालिक तेजप्रकाश राणा वीरगन्ज बस्ने गर्नु हुन्थ्यो । प्रधानपञ्च बोगटीको निर्णय अनुसार शमशेरगन्ज दरबार खरिदका लागि बोगटी र खैराला पञ्चायतका तत्कालीन सदस्य एवं वरिष्ठ पत्रकार घनबहादुर शाह काठमाडौँ जानुभयो । काठमाडौँ पुगेर दरबारका मालिक राणालाई वीरगन्जबाट काठमाडौँ बोलाएको र ५० हजार रुपियाँमा दरबार खरिद गरेको शाहले बताउनुभयो । उहाँका अनुसार राणासँग दरबार उहाँको हो भन्ने कागजात केही थिएन । त्यसैले पैसा दिएर एउटा तमसुक मात्रै बनाएर फर्किने काम भयो ।
“राणासँग दरबारको कागजात केही थिएन । उनी बुढा भइसकेका थिए,” शाहले भन्नुभयो, “त्यतिबेला गाविसका लागि दरबार त्यत्तिकै कब्जा गरे पनि हुन्थ्यो तर बुद्धि पलाएन । पैसा बुझाउन जाँदा कागजात नभएको थाहा भएपछि मात्रै यस्तो गरे पनि हुन्थ्यो भन्ने लागेको थियो ।” राणाले बसोबासका लागि बनाएको शमशेरगन्ज दरबार गाउँ पञ्चायतको नाममा आएपछि केही वर्ष त्यसमा गाविस कार्यालय, हुलाक र अन्य एउटा गरेर तीन वटा सरकारी कार्यालय सञ्चालन भएको शाहको भनाइ छ । पछि सशस्त्र द्वन्द्वको क्रममा गाविस कार्यालयमा अज्ञात समूहले आगजनी ग¥यो । सरकारी कार्यालय विस्थापित भए । दरबार प्रयोगविहीन बन्यो । “गाविस कार्यालय सञ्चालन हुँदा त्यति बेला दुई कोठाको फल्याक मात्रै बिग्रेको थियो । बाँकी सबै चिज राम्रै थियो,” शाह भन्नुहुन्छ, “अब त दरबार भत्केर खण्डहर बनेको सुनिन्छ । गाविस हटेपछि त्यसको संरक्षण भएन ।”
अत्याचार नगर्ने राणा
नेपालमा राणा शासकलाई जहानियाँ राणा भन्ने गरिन्छ । राणा शासनकालमा नेपाली जनताले धेरै दुःख पाए तर तेजप्रकाश भने त्यस्तो नभएको स्थानीयवासीको भनाइ छ । खसी, बोका नखुवाउँदा स्थानीयवासीलाई तर्साउन बन्दुकको गोली चलाउने र बाँचिस् भनेर ठट्टा गर्ने गरे पनि त्योभन्दा बढी अत्याचार नसुनिएको पूर्वशिक्षक योगी बताउनुहुन्छ । “प्रवृत्ति राणा थियो होला तर जनतामाथि त्यस्तो अत्याचार भएको सुनिएन,” उहाँले थप्नुभयो, “राणाले दरबारबाहेक सबै जग्गा जनतालाई नै दिएका थिए ।”
गाउँ पञ्चायत हुँदै शमशेगन्ज दरबार अब जनताको भइसकेको छ । दरबारको आधा भाग र छ रोपनी जग्गा स्थानीय बस्नेत आधारभूत विद्यालयको रहेको बताइन्छ तर दरबारको पूरै स्वामित्व पुरातìव विभागले लिएको चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताउनुभयो । एक सय वर्ष पुगेको शमशेरगन्ज दरबार अब खण्डहर बनिसकेको छ । २०५२ देखि २०६० सम्म भत्कन सुरु भएको दरबार संरक्षण नहुँदा जीर्ण बनेको हो । अध्यक्ष बोगटीका अनुसार दरबार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा १० लाख रुपियाँ बजेट छुट्याएको छ । त्यो बजेटबाट घेरबारका लागि पर्खाल निर्माणको काम भइरहेको छ तर दरबारभित्र भने पुरातत्व विभागले प्रदेश सरकारलाई काम गर्न दिएको छैन । दरबारमा सरिया, सिमेन्ट प्रयोग गर्न नपाइने भन्दै विभागले प्रदेश सरकारलाई दरबारभित्र काम गर्न नदिएको उहाँले बताउनुभयो । “अब पुरातत्व विभागले काम आफैँले गर्ने भनेको छ,” बोगटीले थप्नुभयो, “सायद, यसै वर्षबाट दरबार जीर्णोद्वारको काम अगाडि बढ्छ होला ।”