• ३ फागुन २०८१, शनिबार

सुल्झियो मझगाउँ विमानस्थलको विवाद

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ३ गते । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलको निर्माण तत्काल अघि बढ्ने सहमति भएको छ । गृहमन्त्री रमेश लेखकको पहलमा शुक्रबार गृह मन्त्रालयमा भएको सम्बद्ध निकायका मन्त्री, सचिव र प्रधान सेनापतिसहितको उच्चस्तरीय बैठकबाट विमानस्थलको विषय सुल्झिएको हो ।

बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको छ बिघा विमानस्थल निर्माणका लागि उपयोग गर्न दिने, सेनाको फुटबल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने विषयमा सहमतिपछि लामो विवादमा परेको विमानस्थलको निर्माणको विषय सुल्झिएको हो ।

बैठकमा गृहमन्त्री रमेश लेखकले लामो समयदेखि विमानस्थल निर्माणको विषय थाँती रहेको र सुल्झाउन आग्रह गर्नुभएको थियो । सो अवसरमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्र्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत मन्त्रालयका सचिवहरूले आआफ्नो धारणा राख्नुभएको थियो ।

२०७८ माघमा विमानस्थल पुनर्निर्माणका लागि ठेक्का भई हालसम्म एक हजार तीन सय मिटर विमानस्थलको धावनमार्ग कालोपत्रे हुने चरणमा पुगिसकेको छ । विमानस्थल विस्तारका क्रममा विमानस्थलको दक्षिणतर्फ सेनाको छ बिघा जग्गा विमानस्थलले लिने विषयमा यसअघि सहमति हुन नसक्दा निर्माण प्रभावित हुँदै आएको थियो ।

शुक्रबारको बैठकमा सम्बद्ध सबै निकायसहितको टोली महेन्द्रनगर पठाउनुका साथै धावनमार्ग निर्माणको काम तत्काल सुरु गर्ने सहमति भएको गृहमन्त्री लेखकले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यसअघि पनि छुट्टाछुट्टै धेरै चरणमा सहमति र निकासका लागि छलफल भए तर निकास निस्केको थिएन । सम्बद्ध निकायको संयुक्त बसाइले सहमति भएर विमानस्थलको निर्माण तत्काल अघि बढ्ने सहमति भयो ।”

बैठकमा प्रधान सेनापति अशोकराज सिग्देलले सेनाको जग्गा विमानस्थलमा पर्दा कुनै असहमति नरहेको र सो क्रममा मिचिने फुटबल मैदान निकुञ्ज क्षेत्रकै खाली जमिनमा बनाउन पाउनुपर्ने र आवास निर्माणमा जोड दिनुभएको थियो ।

भीम पालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत लगानीमा विमानस्थल तीन वर्षमा निर्माण गरिसक्ने गरी निर्माण अघि बढाइएको छ ।