अमृतकुमार महतो
बिजलपुरा (महोत्तरी), फागुन २ गते । बेसहाराहरूको सहाराका लागि महोत्तरीको बर्दिबासमा जनस्तरबाट ‘हाम्रो माया घर’ को निर्माण कार्य धमाधम भइरहेको छ । स्थानीहरूले चन्दा जुटाएर सुविधासम्पन्न भवन बनाइरहेका छन् ।
भवन निर्माणका लागि बर्दिबास वडा नम्बर —२ मा मनकारीहरूले साढे पाँच कट्ठा जग्गा दान गरेपछि हाम्रो माया घरको निर्माण कार्य सुरु भएको थियो । साउन ३० गते मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले भवनको शिलान्यास गर्नुभएको थियो ।
योजना अनुसारमाया घरको भौतिक निर्माण कार्य पुरा गर्न कुल दश करोड ७४ लाख रुपियाँको खर्च हुने अनुमान गरिएको छ । पहिलो चरणमा अढाई तल्लाको पक्की भवन निर्माण भइरहेको छ । पहिलो चरणको भवन निर्माण कार्यमा हालसम्म झन्डै ३५ लाखसम्म खर्च भइसकेको निर्माणमा सहभागी स्थानीय समाजसेवी चेतबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार साढे २ तल्लाको भवन निर्माण हुन्छ । जसमध्ये तलको तल्लामा हल र माथिको दोस्रो तल्लामा बासका लागि कोठा निर्माण भइरहेको छ ।
माया घर निर्माणका लागि आर्थिक स्रोत जुटाउन साउनमा शिव पुराण महायज्ञ लगाइएको थियो । खर्च कटाएर त्यहाँबाट नगद र जिन्सी गरेर कुल २ करोड रुपियाँ आर्जन भएको थियो । त्यसैबाट पहिलो चरणको भवन निर्माण कार्य सुरु भएको हाम्रो माया घर निर्माण समितिका संयोजक शम्भु भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो,‘सडकमा भेटिने व्यक्तिको पनि हाम्रो जस्तै सपना हुन्छ । राम्रो खाने र राम्रो ठाउँमा बस्ने । बाध्यताले सडकमा आइपुगेकाहरूलाई बास दिनु हाम्रो पनि कर्तव्य हो । यो मनोभावले हामीले हाम्रो माया घर निर्माण गरिरहेको हौँ ।’
भवन निर्माणका लागि बर्दिबास नगरपालिकाले पनि सहयोग गर्ने भएको छ । बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीका अनुसार मधेस प्रदेश सरकारसँग सशर्त अनुदानमा भवन निर्माण शीर्षकमा ५० लाख बजेट माग गरिएको छ । बजेट आउन ढिलो भए तत्कालका लागि बर्दिबास नगरपालिकाले निर्माण कार्यमा २० लाख बजेट उपलब्ध गराउनेछ ।
भवन निर्माण हुनेभन्दा अघि पनि अनाथ बालबालिका र सडक मानवको अभिधात्व समितिले लिने तयारी भइरहेको प्रमुख क्षेत्रीले बताउनुभयो । ‘बर्दिबासमा हाम्रो भवन निर्माण नभएसम्मका लागि इटहरीस्थित माया घरमा व्यवस्थित गर्छौँ,’ उहाँले भन्नुभयो ।
जसको कोही छैन । उसका लागि बर्दिबासवासी उभिन्छ, काँध थप्छन् र सहारा बन्दछन् भन्ने मर्मसहित सारा स्थानीयहरू माया घरको निर्माणका आफूसँग भएको नगद र जिन्सी सहयोग गरेर सघाइरहेको हाम्रो माया घर बर्दिबास महोत्तरीका अध्यक्ष कृष्णप्रसाद गौतमले सुनाउनुभयो । उहाँका अनुसार गत वर्ष दर्जन स्थानीयहरूले डेढ करोड बराबरको साढे ५ कट्ठा दान गरेपछि माया घर निर्माणका लागि साउनमा महायज्ञ लगाइएको थियो । राधिका फाउन्डेसनमार्फत सञ्चालित सडक मानव र हिंसा पीडितहरूका लागि आश्रस्थल निर्माण गर्ने अवधारण अन्तर्गत बर्दिबासमा पनि हाम्रो माया घर निर्माण हुन लागेको अध्यक्ष गौतमले बताउनुभयो ।
‘सडक तथा सार्वजनिक स्थलहरूमा कोही पनि दुःखी मानवहरू नदेख्नु भन्ने हाम्रो चाहना छ । कुनै कारणवश सडकमा बेसहारा भएर कोही आइहाल्छ भने उहाँको उद्धार गर्दै सम्मानित जीवन बाँच्न र सुरक्षाका लागि हामीले आश्रय स्थल बनाइरहेका छौँ ,’ उहाँले गोरखापत्रसँग अध्यक्ष गौतमले भन्नुभयो, ‘समाजमा मानवीयता जागृत गराउनु पनि हाम्रो माया घरको अर्को मुख्य उद्देश्य हो । हरक कोहीले व्यक्ति सकारात्मक सोचाइ र चिन्तनबाट प्रेरित भएर असहाय बालबालिका, वृद्धवृद्धा र मानसिक सन्तुलन बिग्रिएकाहरूलाई नयाँ जीवन दिन सक्नुपर्छ । त्यसैको प्रयासमा हामी लागेका छौँ ।’ दाता र सरकारबाट छिट्टै भवन निर्माण गरेर सञ्चालनमा ल्याउन हरसम्भव प्रयास भइरहेको उहाँले सुनाउनुभयो ।