जीवछ यादव
लहान, फागुन २ गते । गाउँ ब्लक जग्गा फुकुवाका लागि चारबुँदे सहमति जुटेपछि आन्दोलन फिर्ता लिएको छ । दुई दिनदेखि मालपोत कार्यालय लहानको अगाडि धर्नामा बसेर कार्यालयको कामकाज ठप्प गरेर गाउँ ब्लक सङ्घर्ष समितिले उत्रेका थिए ।
बिहीबार अबेर भएको सम्झौता अनुसार नापी कार्यालयले बुझाएका वितरणलाई वडा नम्बर २४ देखि क्रमशः अद्यावधिक गर्न चाहिने जनशक्ति र आवश्यक सामग्री लहान नगरपालिकाले उपलब्ध गराउने,नापी गर्न बाँकी रहेको जग्गालाई नापी गराउन विभागलाई पत्राचार गर्ने र जारी रहेको आन्दोलन फिर्ता गर्ने निर्णय भएको छ ।
लहान नगरपालिकाको कार्यालयमा नगरप्रमुख महेशप्रसाद चौधरीको अध्यक्षता सरोकारवालाहरू बसेर सहमति गरेको थियो । सहमति भएको बैठकमा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, मालपोत कार्यालय लहानका प्रमुख डमरुप्रसाद निरौला,नापी कार्यालय प्रमुख लालबाबु यादव र गाउँ ब्लक सङ्घर्ष समितिका संयोजक अरुण केसीले हस्ताक्षर गरेपछि आन्दोलन फिर्ता लिइने निर्णय गरेको थियो ।
गाउँ ब्लक जग्गा फुकुवा नहुँदा सात हजारभन्दा बढी परिवार बैङ्कमा जगा राख्न नपाउने, समस्या पर्दा खरिद बिक्री नहुने लगायतका मानवीय समस्याहरू उत्पन्न भएपछि गाउँ ब्लक सङ्घर्ष समिति गठन गरेर विभिन्न चरणको आन्दोलन गरेपछि भएको सहमति कार्यान्वयन भए समस्या समाधान हुने सङ्घर्ष समितिका संयोजक केसीले बताउनुभयो । उहाँले भन्नुभयो,‘सङ्घर्ष समितिले थालेको आन्दोलनलाई नेपाली काँग्रेस नगर समिति, लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरी, उपप्रमुख रामचलितर महतो, मालपोत कार्यालयका लेखापढी व्यवसायी सङ्घ र विभिन्न सञ्चार क्षेत्रले यस आन्दोलनलाई सहयोग गरेकाले न्याय पाउने अवस्था आएको छ ।’