जलेश्वर, फागुन २ गते । कम मेहनत र लगानीमा मनग्य आम्दानी हुने भएकाले महोत्तरी गाउँपालिका–६ का किसानहरु नगदेबाली सुर्तीखेती गरेर जीवनस्तर उकास्न सफल भएका छन् ।
बर्सेनि बीउबिजन, मल र पानीको समस्याले धान उत्पादन घटेपछि स्थानीय किसान परम्परागत धानखेती छाडेर व्यावसायिक रुपम सुर्तीखेती गर्न थालेका छन् ।
सुर्तीखेतीमा रमाउनुभएका किसान रामजीवन साह मेहनत र लगानीअनुसारको धान उत्पादन नहुँदा महोत्तरी गाउँपालिका–६ धेरैजसो किसानले सुर्तीखेती गरेका बताउनुहुन्छ ।
गाउँका ४० प्रतिशत खेतबारीमा सुर्तीखेती हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार उक्त वडाको ५० बिघाभन्दा बढी जग्गामा सुर्तीखेती भएको छ । उक्त वडाका ५० बढी परिवार सुर्तीखेतीमा व्यस्त छन् ।
एकै वर्षको आम्दानीले तीन वर्षसम्मको लागि धान किन्न सकिने भन्दै स्थानीय किसान रामएकवाल साहले यहाँका किसान व्यावसायिक रुपमा सुर्तीखेती गर्न थालेको बताउनुभयो । उहाँका अनुसार स्थानीय बजारमा सुर्तीको गुणस्तर हेरेर एक किलोग्रामको रु. एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ ।
यहाँको सुर्ती बिंडी र चुरोट बनाउन भारतका व्यापारीले किन्ने गरेका छन् । एक कट्ठा जग्गामा दुई क्विन्टलसम्म सुर्ती उत्पादन हुने र वार्षिक न्यूनतम रु. दुई लाख आम्दानी गर्न सकिने भन्दै अर्का किसान मोहन मण्डलले बताउनुभयो । रासस