• ३ फागुन २०८१, शनिबार

सञ्चालनमा आउँदैनन् ‘फायर हाइड्रेन्ट’

blog

दैलेख समाचारदाता 

दैलेख, फागुन २ गते । दैलेख सदरमुकामको नारायण नगरपालिका–१, देवकोटा चोकको लालबहादुर खड्काको घरमा गत वर्षको जेठ २५ गते आगलागी भयो । घरको दोस्रो तलामा रहेको म्यारिगोल्ड मन्टेसरीका विद्यार्थीलाई खाजा बनाइरहेका बेला ग्यास लिक भएर आगलागी भएको थियो । विद्यार्थी बाहिर निकालेर स्थानीयको सहयोगमा दुई घण्टामा आगलागी नियन्त्रण गरियो । आगलागी हुँदा समयमै न दमकल आयो, न ‘फायर हाइड्रेन्ट’ प्रयोग गरियो । 

त्यस्तै बजारमै रहेको साजन अटो पाटर्समा पनि आगलागी भयो । आगलागीबाट अटो पार्ट्ससँगै जोडिएको भूपेन्द्र स्टोर्सको सबै खाद्यान्न जलेर नष्ट भयो । बिहान ९ बजेतिर लागेको आगो नियन्त्रणमा लिन नसक्दा अन्य पसललाई समेत क्षति गरेको थियो । आगलागी भएको पसलबाट १० मिटर मात्र टाढा रहेको फायर हाइड्रेन्ट प्रयोग हुन सकेन । सदरमुकामका विभिन्न स्थानमा नारायणनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाद्वारा राखिएका फायर हाइड्रेन्ट प्रयोगमा नआउँदा बजार क्षेत्रमा आगलागी हुँदा दमकल नआउन्जेलसम्म घर घरबाट पानी बोकेर आगो नियन्त्रण प्रयास गर्नुपर्ने बाध्यता रहेको छ । 

नारायण नगरपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडाध्यक्ष जनकप्रसाद न्यौपानेले आगलागी हुँदा समयमै दमकल पुर्‍याउने कुरामा केही कमजोरी भए पनि दमकलले आगलागी नियन्त्रणमा धेरै सहयोग पुगेको बताउनुभयो । उहाँले बजार क्षेत्रको सडक साँघुरो भएका कारण आगलागी भएको स्थानमा सहजै पुग्न नसक्ने समस्या रहेको जनाउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो भौगोलिक समस्याले बजार क्षेत्रको सडक साँघुरो हुने र एउटा मात्र दमकल भएकाले पनि एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न कठिन भएको छ ।” 

नारायणनगर खानेपानी तथा उपभोक्ता संस्थाका कार्यालय प्रमुख इन्जिनियर राजन खड्काले नगरपालिकाले बजार क्षेत्रभित्र सडक निर्माण गर्दा फायर हाइड्रेन्टलाई प्रयोग गर्नसमेत कठिन हुने गरी सडक निर्माण गरेको बताउनुभयो । उहाँले सडक निर्माण वा नगरपालिकाले आफ्नो विपत् योजना निर्माण गर्दा खानेपानी उपभोक्ता संस्थालाई नबोलाउने र समस्या परेका बेला मात्र विभिन्न आरोप लगाउने काम गरेको जनाउनुभयो । उहाँले बजार क्षेत्रमा राखेका हाइड्रेन्टलाई कसरी सञ्चालन गर्ने भन्नेमा सामान्य छलफलसमेत नभएको बताउनुभयो ।  जिल्लाको नारायण नगरपालिकाबाहेक अन्य पालिकामा दमकलसमेत खरिद गरिएको छ । जिल्लाका विभिन्न स्थान तथा सामुदायिक वनमा आगलागी हुँदा नागरिकले स्याउलाले हानेर आगो नियन्त्रण गर्ने गरेका छन् ।