• ३ फागुन २०८१, शनिबार

मुटुरोगका बालबालिकाको निःशुल्क उपचार

blog

जुम्ला समाचारदाता 

जुम्ला, फागुन २ गते । जुम्ला तातोपानी गाउँपालिका–४ की भगवती कामीलाई मुटु दुखेर हैरान बनाउँथ्यो । उकालोमा हिँड्न निकै कठिन हुने, विद्यालयमा पढ्न पनि असजिलो र खाना कम खाने समस्या थियो । अभिभावकले भगवतीलाई अस्पतालमा पुर्‍याएर जाँच गरेपछि मुटुरोगको समस्या रहेछ । त्यसपछि उपचार गरेर अहिले सन्चो भएको छ । 

भगवतीका काका हिम्मत कामीले डाक्टरले जाँच गरेपछि काठमाडौँ गङ्गालाल हृदयरोग केन्द्रमा गएर निःशुल्क उपचार भएको जानकारी दिनुभयो । भगवतीलाई परिवारले २०८० भदौमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पुर्‍याएर परिवारलाई यातायात खर्चसमेत दिएर काठमाडौँ पठाएको थियो । अहिले भगवती सन्चो भएर एसइई दिने तयारीमा हुनुहुन्छ । 

यस्तै गुठीचौर गाउँपालिका–१ का ११ वर्षीय बालक महादेव ऐडीलाई पनि छाती दुख्ने, खाना नरुच्ने, उकालोमा हिँड्न कठिन हुने समस्या भयो । उहाँलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा स्वास्थ्य जाँच हुँदा मुटुको समस्या देखियो । प्रतिष्ठानको बालरोग विशेषज्ञ टोलीले रोग पत्ता लगाएपछि काठमाडौँ रिफर गरेको छ । एक जना दाताले अमेरिकाबाट सहयोग गर्नुभएको कोषबाट ३० हजार रुपियाँ यातायात खर्चका लागि काठमाडौँ गङ्गालाल हृदयरोग केन्द्रमा उपचारका लागि पठाइएको अस्पतालले जनाएको छ । मुटुरोग समस्याबाट ग्रसित बालक महादेवको हजुरआमा विषा ऐडीले अहिले औषधी खुवाइरहेको र डाक्टरको सल्लाहमा काठमाडौँ जाने तयारी भइरहेको जानकारी दिनुभयो ।   

अहिले भगवती र महादेव जस्तै दर्जनभन्दा बढी बालबालिकाको निःशुल्क उपचार तथा परामर्श भइहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको चिकित्सक टिमको सहकार्यमा प्रतिष्ठानमा जाँच गरेर काठमाडौँ पुगेर निःशुल्क उपचार भइरहेको छ । कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा विदेशमा काम गर्ने एक नेपाली दाताले गरेको सहयोगमा अस्पतालभित्र कर्णाली बाल विकास कोष स्थापना गरी उनीहरूको उपचार भइरहेको छ । प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. कमल थानीका अनुसार मुटुका समस्या भएका बालबालिकालाई काठमाडौँमा समेत निःशुल्क उपचार तथा यातायातका लागि सहयोग भइरहेको छ । उहाँले मुटुरोगसहित प्रतिष्ठानमा आउने विभिन्न रोगका झन्डै २५ जना बालबालिकाको चेकजाँच गरी औषधी उपचार, खाना, बासका लागि सहयोग भएको बताउनुभयो । 

उहाँले अहिले बालबालिकामा मुटुरोगको पहिचान गर्न सकिने र उपचार निःशुल्क हुने गरेकाले त्यस्ता बालबालिका भएमा सम्पर्कमा ल्याउन अनुरोध गर्नुभयो । रोग पहिचान भएपछि आर्थिक स्थिति सम्पन्न हुने महानुभावले केही खर्चसमेत गर्दै आएको बताउनुभयो । अस्पतालको सम्पर्कमा आएकालाई यहाँ गर्न सकिने उपचार यहाँ गरिन्छ भने जटिल प्रकारकालाई गङ्गालाल हृदयरोग केन्द्र काठमाडौँमा पठाउने गरिएको छ । उहाँले १५ वर्षमुनिका बालबालिकाका लागि उपचारका लागि काम भइरहेको जानकारी दिनुभयो । यसै गरी अति विपन्न बालबालिकाको उपचारमा समेत आर्थिक सहयोग गरिँदै आएको बताउनुभयो । यसैबिच मुटु रोगका बालबालिका पहिचान हुन थालेपछि यही फागुन ७ गते जुम्लामा मुटुसँग समस्या भएका बालबालिकाको स्क्रिनिङ शिविर गर्न लागिएको छ ।