मिर्गी एक प्रकारको न्युरोलोजिकल रोग हो, जसमा मस्तिष्कको विद्युतीय गतिविधिमा असामान्य परिवर्तन हुन्छ । यसले व्यक्तिमा बारम्बार रूपमा बेहोस हुने समस्या निम्त्याउँछ । यसलाई छारे रोग, मुर्छे, दौरा आउनु (बेहोस हुनु) वा मेडिकल भाषामा इपिलेप्सी पनि भनिन्छ । यसले विभिन्न प्रकारका लक्षण निम्त्याउन सक्छ, जस्तै झटका, मांसपेशीको अकस्मात् सङ्कुचन, चेतना गुमाउने र मानसिक अवस्थामा परिवर्तन । यो कुनै पनि उमेर, लिङ्ग, जाति वा भौगोलिक क्षेत्रमा हुने रोग हो तर बाल्यकाल र वृद्धावस्थामा बढी सामान्य छ । यो दीर्घकालीन अवस्था हो तर उचित उपचार र व्यवस्थापनले यसको असर कम गर्न सकिन्छ । यो सरुवा रोग होइन ।
महामारी विज्ञान
विश्वव्यापी रूपमा मिर्गी ५० मिलियनभन्दा बढी मानिसलाई असर गर्ने रोग हो । प्रत्येक वर्ष लगभग २५ लाख नयाँ केस रिपोर्ट गरिन्छन् । नेपालमा पनि लगभग ४/५ प्रतिशत जनसङ्ख्यामा मिर्गीको समस्या देखिन्छ । दुर्गम क्षेत्रका मानिसले स्वास्थ्य सेवा लिन कठिनाइ भएकाले धेरै केस रिपोर्ट नै हुँदैनन् ।
मिर्गी हुनुको कारण
टाउकोमा चोट लाग्नु, मस्तिष्कमा रगत जम्नु वा मस्तिष्क ट्युमरले मस्तिष्कलाई क्षति पु¥याउन सक्छन् र मिर्गीको विकासको जोखिम बढाउन सक्छ । केही मस्तिष्क सङ्क्रमण, जस्तै मेनिन्जाइटिस र इन्सेफलाइटिस पनि मिर्गीका कारण हुन् । स्ट्रोकले मस्तिष्कमा रक्त प्रवाहलाई अवरोध गर्छ, जसले मिर्गीका लक्षण निम्त्याउन सक्छ । केही जन्मजात विकार जस्तै सेरेब्रल पाल्सी मिर्गीसँग सम्बन्धित छन् । केही प्रकारका मिर्गी आनुवंशिक हुन सक्छन्, जसको अर्थ तिनीहरू परिवारमा चल्छन् । केही विषाक्त पदार्थ जस्तै लिड र कार्बन मोनोअक्साइडले मिर्गी निम्त्याउन सक्छन् भने केही औषधी जस्तै डिप्रेसनमा प्रयोग गरिने औषधीले साइड इफेक्टको रूपमा मिर्गी ल्याउँछ । धेरै अवस्थामा मिर्गीको कारण स्पष्ट रूपमा पहिचान नभएको पनि देखिन्छ ।
मिर्गीका लक्षण
मिर्गीका लक्षण व्यापक रूपमा भिन्न हुन सक्छन् र मिर्गीको प्रकारमा निर्भर गर्छ । केही सामान्य लक्षण जस्तै मांसपेशीमा अचानक सङ्कुचन वा झट्का (शरीरको अनियन्त्रित कम्पन) आउन सक्छन् । मिर्गीको एक प्रकार टोनिक–क्लोनिक दौराहरूमा व्यक्तिले चेतना गुमाउँछ, शरीर कडा हुन्छ (टोनिक चरण) र त्यसपछि झट्का हुन्छन् (क्लोनिक चरण) । चेतना गुमेको कारण व्यक्ति अचानक बेहोस हुन सक्छ । साथै हातखुट्टा झमझमाउने, सुन्निने, आँखा तिरमिराउने, चिच्याउने, असामान्य गन्ध वा स्वादको अनुभव हुने पनि यसका लक्षण हुन् । मानसिक अवस्थामा परिवर्तनले भ्रम, डर वा चिन्ता निम्त्याउन सक्छ ।
मिर्गीको निदान
मिर्गीको निदान यसको दौरा हुने समय, प्रकृति र आवधिकताको आधारमा गरिन्छ । मस्तिष्कको विद्युतीय गतिविधि मापन गर्न इलेक्ट्रोएन्सेफलोग्राम साथै मस्तिष्कको एमआरआई र सिटी स्क्यान गरिन्छ । सङ्क्रमण, इलेक्ट्रोलाइट असन्तुलन वा जेनेटिक कारण पत्ता लगाउन रक्त परीक्षण पनि गर्न सकिन्छ । छारेरोगको उपचारमा औषधी सबैभन्दा महत्वपूर्ण भूमिका खेल्छ । डाक्टरले बिरामीको अवस्था हेरेर सही औषधी र मात्रा निर्धारण गर्छन् । यसमा फेनोबार्बिटोल, कार्बामाजेपिन, भालप्रोएट जस्ता एन्टी इपिलेप्टिक औषधीहरू पर्छन् । नियमित रूपमा औषधी सेवन गर्नाले धेरै जसो बिरामीमा छारेरोगको लक्षण नियन्त्रण गर्न सकिन्छ । औषधीले छारेरोग नियन्त्रण गर्न सकेन भने मस्तिष्कको प्रभावित भाग हटाउन शल्यक्रियाको पनि विकल्प हुन्छ । त्यसै गरी केही खास प्रकारको भोजनले पनि छारे रोगको लक्षण कम गर्न मद्दत गर्छ । उदाहरणका लागि केटोजेनिक डाइटमा बोसोको मात्रा बढी र कार्बाेहाइड्रेटको मात्रा कम हुन्छ, जसले केही बिरामीलाई फाइदा पु¥याउँछ । यीबाहेक अन्य उपचारमा जीवनशैली सुधार जस्तै पर्याप्त निद्रा, तनाव व्यवस्थापन र मदिरा परित्यागले पनि मिर्गीको सम्भाव्यतामा कमी ल्याउँछ । छारेरोगको उपचार व्यक्ति अनुसार फरक हुन सक्छ ।
जटिलता र रोकथामका उपाय
दौराको समयमा लड्दा वा अन्य दुर्घटना हुँदा चोटपटक लाग्न सक्छ, व्यक्ति पौडिरहेको अवस्थामा डुब्न पनि सक्छन् । मिर्गी भएका व्यक्तिमा डिप्रेसन, चिन्ता र अन्य मानसिक स्वास्थ्य समस्याको जोखिम बढी हुन्छ । मिर्गी भएका व्यक्तिलाई काम पाउन, विद्यालय जान वा सामाजिक गतिविधिमा भाग लिन गाह्रो हुन्छ । मिर्गी भएका महिलालाई गर्भावस्थाको समयमा जटिलता हुने जोखिम बढी हुन्छ । केही दुर्लभ अवस्थामा मिर्गी अचानक मृत्युको कारण पनि बन्न सक्छ । छारे रोगबाट बच्न केही उपाय अपनाउन सकिन्छ जस्तै टाउकोमा चोट लाग्नबाट जोगाउनुहोस्, गाडी चलाउँदा हेलमेटको प्रयोग गर्नुहोस् । साथै मस्तिष्क सङ्क्रमण वा चोट लागेमा समयमै उपचार गराउनुहोस् । आफ्नो डाक्टरको सल्लाह अनुसार नियमित औषधी सेवन गर्नुहोस्, पर्याप्त निद्रा लिनुहोस् । मदिरा र धूमपानबाट टाढा रहनुहोस् । स्वस्थकर खाना खानुहोस् र नियमित व्यायाम गर्नुहोस् ।
प्राथमिक उपचार
कसैलाई मिर्गीको दौरा परेको छ भने उनलाई भुइँमा सुताउनुहोस् र टाउकोलाई नरम चिजले टेकाउनुहोस् । उनका वरिपरिबाट खतरनाक चिज हटाउनुहोस्, जसले चोट लाग्नबाट जोगिन्छ । घाँटीको वरिपरि केही छ भने जस्तै टाई, त्यसलाई खुकुलो पार्नुहोस् । उनलाई जबरजस्ती समात्ने प्रयास नगर्नुहोस् । केही समयपछि दौरा आफैँ रोकिने छ । दौरा पाँच मिनेटभन्दा बढी समयसम्म रहन्छ भने वा यदि व्यक्तिलाई सास फेर्न गाह्रो भइरहेको छ भने तुरुन्तै एम्बुलेन्स बोलाउनुहोस् । मिर्गीको दौरा आउने समयमा बिरामीको भिडियो पनि बनाउन सकिन्छ, यसले डाक्टरलाई रोगको प्रकार, कारण र लक्षण बुझ्न मद्दत गर्छ ।
उपचारबाट नियन्त्रण
मिर्गी एक स्नायु प्रणालीसँग सम्बन्धित रोग हो, जसमा मस्तिष्कको विद्युतीय क्रियामा गडबडी हुन्छ र बारम्बार दौरा आउने गर्छ । यो रोग विश्वभरि नै फैलिएको छ र नेपालमा पनि यसको प्रभाव देखिएको छ । मिर्गीका लक्षणमा मांसपेशीको अकस्मात् सङ्कुचन, चेतना गुमाउने र मानसिक अवस्थामा परिवर्तन आदि पर्छन् । यसको निदान गर्नका लागि मस्तिष्कको विद्युतीय गतिविधिलाई जाँच गरिन्छ । मिर्गीको उपचारमा औषधी, शल्यक्रिया र केटोजेनिक डाइट जस्ता विधि प्रयोग गरिन्छन् । उचित उपचार र हेरचाहले मिर्गीलाई नियन्त्रण गर्न सकिन्छ ।