• २९ फागुन २०८१, बिहिबार

सङ्घर्षको शङ्ख फुक्ने योद्धा

blog

आधुनिक नेपालको निर्माण बहुतै कठिन परिस्थितिमा भएको छ । अङ्ग्रेजको साम्राज्य विस्तार कालमा निर्माण भएको यो पवित्र हिमाली देशमा त्यसको विस्तार र स्थायित्वमा पनि थुप्रै वीर सपुतहरूले रगत बगाएका छन् । देशको निर्माण एकदमै कठिन कार्य हो । त्यसभन्दा पनि कठिन त्यहाँका बासिन्दालाई खुसी राख्नु र देशको अस्तित्व जोगाई राख्नुमा हुन्छ । कालक्रममा जनविरोधी र राष्ट्रविरोधी शासकहरूले त्यहाँको भूमिलाई आफ्नो पञ्जामा लिए । त्यसमा राणा शासन प्रमुख हो । जुन शक्तिसँग कठोर सङ्घर्ष गरेर नेपालको अस्तित्व स्थापित भएको थियो त्यही शक्तिको तावेदारी गरेर यहाँका जनतामाथि निरङ्कुश शासन लाद्ने काम राणाहरूले गरे । 

राणा शासनको सुरुवात गर्ने जङ्गबहादुर कुँवर अङ्ग्रेजको एजेन्डा थियो । अङ्ग्रेजसँग युद्ध गर्दै नेपाल एकीकरण गर्नेहरूको हातमा नेपालको ताला चाबी पुगेको अङ्ग्रेजलाई चित्त बुझ्ने कुरै थिएन । त्यस्तो स्थितिमा स्वतन्त्रताप्रेमी, राष्ट्रभक्तहरू कसरी चुपचाप हेरेर बसिरहन्थे र ? त्यो परिस्थितिमा कोतपर्वको बीभत्स हिंसाको माध्यमबाट उदाएको र भण्डारखालको दोस्रो नरसंहारबाट ‘शक्तिशाली’ भएको जङ्गबहादुर राणालाई समाप्त नपारी नेपालको अस्तित्व पनि बच्दैन र नेपाली जनताले शान्तिसँग बाँच्ने स्थिति पनि रहँदैन भन्ने ठानी सेनाको जागिरमा रहेका गोरखाली वीर लखन थापाले सर्वप्रथम विद्रोह गरे । 

विसं १९२७ मा एउटा सानो झिल्कोको रूपमा सुरु भएको त्यो विद्रोह ८० वर्षपछि अर्थात् २००७ सालमा पूरा भयो । ८० वर्षको कठोर प्रयासपछि २००७ साल फागुन ७ गते नेपालबाट राजा शासनको अन्त्य भयो र प्रजातन्त्र स्थापना भयो । यसबिचमा राणा शासनविरुद्ध गुप्त र खुला थुप्रै सङ्घर्ष भए । त्यसमा सयौँ सपुतले आफ्नो जीवन बलिदान गरे । त्यो बलिदानीपूर्ण सङ्घर्षको पहिलो शङ्ख फुक्ने वीर योद्धा थिए लखन थापा मगर । लखन थापाकै शौर्य, वीरता र साहसको अन्तिम परिणति थियो सात सालको क्रान्ति । लखन थापा हामी वीर नेपालीका शान र गौरव हुन् । विसं १९९३ मा जङ्गबहादुरले मृत्युदण्ड दिएका थापा मगरलाई नेपाल सरकारले सन् २००० फेब्रुअरी २३ मा नेपालको प्रथम सहिद घोषणा गरेको थियो । त्यसअघि पनि उनलाई सहिदको रूपमा स्वीकार गर्नेको सङ्ख्या निकै ठुलो थियो तर औपचारिक र आधिकारिक रूपमा उनको नाम सहिदको सूचीमा थिएन । सन् २००० देखि भने उनको नाम राज्यले सहिदको सूचीमा दर्ता ग¥यो । 

गोर्खाको बुङ्कोट काहुले भङ्गारमा जन्मिएका लखन थापाको खास नाम लक्ष्मण थापा मगर थियो । उनी फौजी पृष्ठभूमि भएको परिवारका सदस्य थिए । नेपाली सेनाको पुरानो गोरखगणमा कप्तानको दर्जा पाएका थापा मगर राणा शासनको अत्याचारविरुद्ध सङ्गठित विद्रोह गर्ने पहिलो नेपाली वीर थिए । नेपालको पहिलो सहिदको गरिमामय स्थान प्राप्त भएपछि उनका सम्बन्धमा अझ व्यापक रूपले अध्ययन भएको छ । हुन त त्यसअघि पनि गैरराज्य पक्षबाट र देश विदेशको अनुसन्धानबाट पनि गम्भीर अध्ययन नभएको होइन तर त्यो औपचारिक अध्ययनको विषय र सन्दर्भ सामग्रीमा समेटिएको थिएन । अहिले चाहिँ स्कुल कलेजको पाठ्यसामग्रीको रूपमा उनको जीवन र सङ्घर्षको कथा समेटिन थालेको छ । अब उनको जीवन सङ्घर्ष र शहादत्त नेपालीको प्रेरणाको स्रोत बनेको छ । 

सेनाको कप्तान भइसकेका व्यक्ति स्वतन्त्रताको खातिर आफ्नो पदलाई त्यागेर दुई हजार सेनालाई एकत्र गरी तालिम दिने, हात हतियार जम्मा गर्ने र त्यस बेलाको जनविश्वास आर्जन गर्न देवी देवताको आधार लिने कामको समूचित विश्लेषण र मूल्याङ्कन गरिनु जरुरी छ । सामान्यतया हाम्रा अध्ययन सतही र एक पक्षीय हुने गर्छन् । समग्रमा अध्ययन गर्ने, सबै कोणबाट त्यसको विश्लेषण गर्ने, योगदानको कदर गर्ने र त्रुटिपूर्ण कामबाट पाठ सिक्ने गरी अघि बढ्ने साहस नयाँ पुस्ताले गर्नु पर्छ । नयाँ पुस्ताले हाम्रो पुर्खाको क्षमता, सामथ्र्य र चातुर्यको ज्ञानको बारेमा गम्भीर एवं सार्थक अध्ययन थाल्ने विलम्ब नै भएको छ । हामीले हाम्रा अग्र, पुर्खा र समकालीन समाजका अगुवाको बारेमा सही ज्ञान हासिल गर्न सकेनौँ भने हाम्रो अगाडिको यात्रा फलदायी बन्न सक्दैन । अगाडिको यात्रालाई उपलब्धिमूलक बनाउन र देशको सर्वाङ्गीण उन्नतिमा समाहित हुन हामीले हाम्रो अध्ययनलाई ठिक दिशाबाट अघि बढाउनु पर्छ । नेपाल ‘चार वर्ण छत्तिस जात’ को साझा फूलबारी हो । यसको निर्माणमा सबै समुदायको धेरथोर योगदान छ । 

लखन थापा मगर जातिका हुन् । उनले गरेको विद्रोह चाहिँ कुनै एउटा जाति र समुदायको होइन । थापाले गरेको राजनीतिक विद्रोहको पृष्टभूमिमा मनकामना देवीको आशीर्वादको कुरा छ । उनले जङ्गबहादुरलाई अङ्ग्रेजको दलाल भनेर गाउँ गाउँमा प्रचार गरेका छन् । लखन थापाको सेनामा सबै जाति र समुदायका मानिस थिए । ज्ञान दिलदास, पूर्वेली लामिछाने, कानु लम्साल, सुकदेव र सुपात गुरुङलगायत त अग्रपङ्क्तिमै थिए । त्यसरी हेर्दा उनको सङ्गठन र आन्दोलन व्यापक दायरामा थियो भन्ने प्रस्ट देखिन्छ । उनले जनतामा राजनीतिक जागरण ल्याएर आफ्नो संयन्त्रलाई पृष्ठभूमिबाट सहयोग गराउने र सेनाद्वारा जङ्गबहादुरलाई पराजित गर्ने योजना बनाएका देखिन्छ । त्यसबेलाको सामाजिक मनोविज्ञान अनुरूप आफूलाई देवी मनकामनाको आशीर्वाद प्राप्त छ भनेर जनताको धार्मिक विश्वास जित्ने प्रयास गरेका थिए । सेनाबाट तीन महिने छुट्टीमा घर गएका लखन थापाले यति तीव्र गतिमा सङ्गठन, सेना र हातहतियारको व्यवस्था गर्नु चानचुने कुरा थिएन । त्यसबाट उनको नेतृत्व क्षमताको मात्र होइन व्यवस्थापन र सङ्गठन निर्माणको क्षमता पनि प्रस्ट हुन्छ । चतुर जङ्गबहादुरलाई सिध्याउन त भण्डारखाल पर्वमै प्रयास भएको थियो तर त्यसबेला रानीको योजनामा त्यसो गरिएको थियो । त्यसपछिको प्रयास चाहिँ जनस्तरबाट र वैकल्पिक सत्ता निर्माणका लागि भएको थियो ।  

नयाँ र उत्साही पुस्ताले लखन थापाबारे खोजी गर्ने, बुझ्ने, अध्ययन अनुसन्धान गर्ने अवस्था छ । त्यसका लागि राज्य सहयोगी बन्न जरुरी छ । राज्यले उनी र उनको विद्रोहमा सामेल हुने, उनीसँगै शहादत्त प्राप्त गर्नेहरूका बारेमा पनि अध्ययन गर्ने वातावरण निर्माण गर्नु आवश्यक छ । लखन थापालाई प्रथम सहिद घोषणा गरेपछि उनीसँग सहादत्त प्राप्त गर्ने अन्यको पनि सहिदको सूचीमा दर्ज हुने हक बन्छ । तिनका बारेमा जाानकारी हासिल गर्ने र खोज्ने काम प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठानको पनि हो । राज्यले प्रतिष्ठानलाई त्यो कार्यका लागि स्रोतसाधन र जनशक्ति उपलब्ध गराउनु पर्छ । 

इतिहासको सत्य तथ्य खोज्ने काम त सरकारकै हो तर प्रतिष्ठान त्यसमा सहयोगी बन्न सक्छ । प्रतिष्ठानलाई सक्रिय बनाउन चाहिने आर्थिक, भौतिक व्यवस्था सरकारले गर्नु पर्छ । प्रथम सहिद भनेको जेठो सहिद हो । देशका लागि र जनताका लागि लड्ने प्रेरणाको प्रथम स्रोत हुन् । त्यसलाई सही ढङ्गले सञ्चालन गर्दा देशले स्वतन्त्रता र उन्नतिको दिशामा सही कदम चाल्न सक्छ । यो कुरा हाम्रो सरकार, राज्य, राज्य संयन्त्रले पनि बुझ्नु आवश्यक छ । प्रतिष्ठान अन्तर्गत नै एउटा अध्ययन अनुसन्धान विभाग निर्माण गरेर फेलोसिप दिने र विश्वविद्यालयका विद्यार्थीलाई खोजी कार्यमा लगाइनु आवश्यक छ । डेढ सय वर्ष इतिहासका लागि त्यति पुरानो घटना होइन, त्यस कालखण्डका सत्य तथ्य उजागर गर्न असम्भव हुँदैन । प्रयास गरे असम्भव पनि सम्भवमा परिणत हुन सक्छ ।