• १ फागुन २०८१, बिहिबार

कार्यसम्पादन मूल्याङ्कनमा स्याङ्जाका तीन गाउँपालिका उत्कृष्ट

blog

अर्जुन काफ्ले

स्याङ्जा, फागुन १ गते । कार्यसम्पादनको मूल्याङ्कनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्येबाट कालीगण्डकी गाउँपालिका ७८.२ प्रतिशत अङ्कसहित गण्डकी प्रदेशकै प्रथम, आँधीखोला गाउँपालिका ७८ प्रतिशत अङ्क प्राप्त गर्दै द्वितीय र फेदीखोला गाउँपालिका ७७.९ अङ्क प्राप्त गर्दै तृतीय भएका हुन् ।

राष्ट्रिय प्राकृतिक स्राेत तथा वित्त आयोगले गरेको कार्यसम्पादन कार्यविधि २०७८ दफा ८ को अधिनमा रही कार्यसम्पादनको आधारमा मूल्याङ्कन गरिएको हो । तीनै पालिकामा नेकपा एमालेबाट जितेका पालिका हुन् । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा र फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीको यो दोस्रो कार्यकाल हो । 

त्यस्तै, आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वराज पौडेलले नेतृत्वमा गर्नुभएको छ । पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जामा नगरपालिकाहरुको कार्य सम्पादन कमजोर देखिएको छ ।

पाँच नगरपालिकामध्ये वालिङले ७३.७ अङ्क प्राप्त गरेको छ भने पुतलीबजारले ७१.७, भीरकोटले ६५.७, र चापाकोटले ६२.६ अङ्क प्राप्त गरेको छ । त्यस्तै गाउँपालिकातर्फ बिरुवाले ७४.३, अर्जुनचौपारीले ६४.९ र हरिनासले ५४.२ अङ्क प्राप्त गरेका छन् । 

गण्डकी प्रदेशमै पहिलो बनेको कालीगण्डकी गाउँपालिका देशभरीका ७५३ वटा स्थानीय तहमध्ये चौथो स्थानमा रहँदा दोस्रो बनेको आँधीखोला गाउँपालिका देशभरीबाट पाँचौँ बनेको हो ।