• १ फागुन २०८१, बिहिबार

मध्यविन्दुमा जग्गा नापजाँच सुरु

blog

मध्यविन्दु –१५ मा जग्गा नापजाँचको कामको शुभारम्भ गर्दै नगर प्रमुख भिमलाल अधिकारी ।

ज्ञानु पङ्गेनी 

मध्यविन्दु, फागुन १ गते । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन मध्यविन्दु नगरपालिकामा पुनः प्रक्रिया सुरु गरिएको छ ।  

भूमि समस्या समाधान आयोग पुनः गठन भएपछि जिल्लामा मध्यविन्दु नगरपालिकाले काम सुरु गरेको हो । मध्यविन्दु –१५ मा जग्गा नापजाँचको काम बिहीबारबाट विधिवत रूपमा सुरु भएको छ । 

मध्यविन्दु –१५ को भिउरानमा एक औपचारिक कार्यक्रम गरेर जग्गा नापजाँच कार्यको नगर प्रमुख भिमलाल अधिकारीले शुभारम्भ गर्नुभएको छ । यस वडामा भूमिहीन दलित ३८, भूमिहीन सुकुम्वासी एकसय ५५ र अव्यवस्थित बसोबासी एक हजार एकसय २१ गरी कूल एक हजार दुईसय  १४ जना रहेका छन् । 

जग्गाधनी पुर्जा वितरण गर्न पालिकाले नापजाँच प्रक्रिया सुरु गरेको छ । नापजाँच प्रक्रिया सुरु भएपछि यहाँका बासिन्दा खुसी भएका छन् । लामो समयदेखि जोतभोग गर्दैआएको जग्गाको पुर्जा अब पाइन्छ भन्नेमा ढुक्क भएको स्थानीय भूमिहीन दलित सन्तबहादुर विकले बताउनुभयो ।  

विकले जग्गाधनी पुर्जा नहुँदा धेरै समस्या भोगेको सुनाउँदै अब पुर्जा हात परेपछि सजिलो हुने बताउनुभयो । लामो समयदेखि ऐलानी जग्गामा बसोबास गर्दै आउनुभएकी ज्ञानुमाया खड्का पनि जग्गा नापजाँच सुरु भएपछि खुसी हुनुहुन्छ । 

जग्गाको पुर्जा नहुँदा धेरै अप्ठेरो परेको गुनासो गर्दै उहाँले भन्नुभयो, ‘कुनै पनि काम गर्न वा दुःख बिरामी पर्दा धितो राखेर ऋण निकालौँ अथवा केही बेचेर काम गरौँ भन्दा पनि नपाइने, घर बनाएर ढुक्कसँग बस्न पनि नपाइने, अब त पुर्जा हात पर्छ भन्ने लागेको छ । म धेरै खुसी छु ।’ 

नगर प्रमुख अधिकारीले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधानमा आफूहरू निरन्तर लागि परेको बताउनुभयो ।

मध्यविन्दु नगरपालिका –१ मा ९० परिवारलाई यसअघि जग्गाधनी प्रमाणपुर्जा निःशुल्क वितरण भइसकेको छ । त्यसबाहेक हालसम्म वडा १, ५, ६, ७, ८ र १० को नापीको काम सम्पन्न भई जग्गाधनी पुर्जा वितरणका लागि अन्य प्रक्रियाहरू अगाडि बढिसकेको नगर प्रमुख अधिकारीले जानकारी दिनुभयो । 

नापी सम्पन्न भएको स्थानमा पुर्जाको वितरण र बाँकी स्थानमा नापीको कामसँगै अगाडि बढाएको उहाँको भनाइ छ । नापी कार्यलाई आवश्यक सहजीकरण गरिदिन सबै वडावासीलाई उहाँले अनुरोध गर्नुभयो ।  

मध्यविन्दु नगरपालिकामा भूमिहीन दलितको संख्या २ सय ९१, भूमिहीन सुकुम्वासी एक हजार एकसय ६९ र अव्यवस्थित बसोबासी ६ हजार चारसय २५ गरी कूल सात हजार आठसय ८५ जनाको तथ्याङ्क सङ्कलन गरिएको छ ।