माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), फागुन १ गते । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका १ सय ५० खेलाडी सहभागी हुने भएका छन् । फागुन ३ गते शनिबार पोखरामा आयोजना हुने १९ औँ संस्करणको म्याराथनमा पहिलो पटक ८ जना महिला पनि सहभागी हुने आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जानकारी दिएको छ ।
मञ्चले बिहीबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । १४२ दशमलव १९५ किमी दौडमा ८० जना विदेशी धावकले भाग लिने मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार केन्या, इथोपिया, भारत, बङ्गालोदश,जर्मनी, आउदी अरब, जापान, बेलायत, अमेरिका लगायतका २१ देशबाट खेलाडी सहभागी हुनेछन् ।
हाफम्याराथन महिलामा १० देशका ४० जना, हाफम्याराथन पुरुषमा १० विदेशीसहित १ सय १० जना, १० किमी पुरुषतर्फ ११ देशका २ सय ११ जना, १० किमी महिलातर्फ ११ विदेशीसहित १ सय ९ जना सहभागी हुने गुरुङले बताउनुभयो । ५ किमी भेट्रान्स (५०वर्ष) पुरुष र महिला गरी ६० जना, ५ किमी छात्रतर्फ १ हजार ४ सय ७० र छात्रातर्फ १ हजार २५ जना गरी ३ हजार १ सय ७५ जनाले नाम दर्ता गराएको मञ्चका महासचिव केशव पाठकले जानकारी दिनुभयो ।
रन फर फनमा करिब ७ हजार सहभागी हुने अनुमान आयोजकको छ । विभिन्न १४ वटा विधामा गरी करिब १० हजारले दौडमा भाग दिने अनुमान मञ्चले गरेको छ । म्याराथनमा प्रथम हुनेलाई नगद रु. ५ लाख, द्वितीयलाई ३ लाख, तृतीयलाई २ लाख प्रदान गरिने छ । चौथो देखि ८ जना सम्मलाई नगद ३० हजारदेखि १० हजार नदग प्रदान गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।
खुला म्याराथनतर्फ गण्डकी प्रदेशका खेलाडीलाई प्रोत्सहान गर्न छुट्टै पुरस्कारको व्यवस्था र यो वर्ष हाफ म्याराथनतर्फ पुरुषतर्फ एउटा विधा थप गरिएको उहाँको भनाइ छ । पुरस्कार राशीमा मात्रै २१ लाख ३४ हजार खर्च हुनेछ भने पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १ करोड ८९ हजार खर्च हुने अनुमान आयोजकको छ ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथन विगत दुई वर्षदेखि डिजिटल प्रविधि माफर्त् निगरानी समेत गरिँदै आएको छ । खुला म्याराथन र महिला हाफ म्याराथनमा चिप्सको प्रयोग गरी खेलाडीको दौडको समयलाई निश्चित गर्नुका साथै प्रविधिको प्रयोगले नेपाली र विदेशी धावकहरूलाई समेत उत्साह थापको दाबी मञ्चको छ । बिहीबारको पत्रकार सम्मेलनमा गत वर्षको विजेता केन्याका स्टेफन उपस्थित हुनुभएको थियो । पोखरा म्याराथन अन्तर्गत नै गत माघ २६ गते महिला-पुरुष ह्विल चियर तथा दृष्टिविहीन महिला-पुरुष दौड भइसकेको छ ।