• १ फागुन २०८१, बिहिबार

व्यवस्थित सहर बन्दै बैरेनी

blog

बैरेनीमा निर्माणाधीन पूर्वाधार । तस्बिर: गोरखापत्र

अमरराज नहर्की

तनहुँ, फागुन १ गते । तनहुँको व्यास नगरपालिका–१० बैरेनी क्षेत्रलाई व्यवस्थित गर्दै आधुनिक सहरमा परिणत गर्न भौतिक पूर्वाधार निर्माण तीव्र छ ।व्यास नगरपालिकाले व्यवस्थित सहर बनाउन बैरेनी जग्गा एकीकरण आयोजना सञ्चालन गरेपछि आधुनिक बन्ने कामले तीव्रता पाएको हो ।  

सदरमुकाम दमौली बजारमा बसोबासका लागि ठाउँ अभाव भएकोले आधुनिक र व्यवस्थित सहर बनाउन जरुरी देखिएपछि जग्गा एकीकरण आयोजना सञ्चालन गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । देशैभरका स्थानीय तहहरूलाई व्यवस्थित सहरको अध्ययन स्थल बनाउने थप उद्देश्यले आयोजना सञ्चालन गरिएको  नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो । बैरेनीमा आयोजना अन्तर्गत प्रथम चरणको कार्यान्वयनको काम धमाधम भइरहेको हो । बैरेनी क्षेत्रको एक हजार पाँच सय रोपनी क्षेत्रफललाई लक्षित गरी आयोजना अघि बढाइएको हाल प्रथम चरणमा दुई सय ६१ रोपनी क्षेत्रफलमा आयोजना कार्यान्वयन गरिएको छ ।

प्रथम चरणको काम गति लिएसँगै आयोजना अन्तर्गत सबै क्षेत्रफललाई समेट्न स्थानीयले दबाब दिएको व्यास नगरपालिका वडा नम्बर १० का निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । सापकोटाले भन्नुभयो, आयोजनाले गर्दा ५० वर्ष पछि हुने विकास अहिले नै देख्न पाइने अवस्था आएपछि सबैलाई समेट्नपर्छ भनी स्थानीयको माग छ ।’

आयोजनाको मस्यौदा नेपाल सरकारबाट स्वीकृत गराई २०७८ फागुन २ गते राजपत्रमा प्रकाशित भइसकेको छ । व्यास नगरपालिका, उपभोक्ताको लगानी र नगर विकास कोषको ऋण सहयोगमा आयोजना सम्पन्न गरिने नगरपालिकाले जनाएको छ । काम तदारुकताको साथ भइरहेकोले चाँडै नै लालपुर्जा वितरणको तयारी भइरहेको बैरेनी जग्गा एकीकरण आयोजनाका प्रमुख वरिष्ठ इन्जिनियर रवीन्द्र मूलले जानकारी दिनुभयो । २०८२ सालको असार मसान्तसम्ममा पुरा हुने गरी काम भइरहेको मूलले बताउनुभयो । बस्तीलाई सुरक्षित बनाउन भूकम्प प्रविधि समाज नेपालले प्राविधिक सहयोग गरिरहेको मूलले जानकारी दिनुभयो ।  प्रथम चरणमा दुई सय ५० उपभोक्ता लाभान्वित हुनेछन् । काठमाडौँ उपत्यका पछि नेपालमै पहिलो पटक व्यवस्थित सहर बनाउने कामको सुरुवात बैरेनीमा गरिएको मूल बताउनुहुन्छ ।

हाल जग्गा सम्याउने तथा टेवा पर्खाल लगाउने, सडकको नाला निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ ।  खानेपानी, सडक, ढल, कलभर्ट तथा अन्य संरचना निर्माणका लागि रु नौ करोड २४ लाख ७० हजार १८ हजार ७७ रुपियाँमा निर्माण सम्झौता भई काम भइरहेको आयोजनाका सिभिल इन्जिनियर कपिल रिजालले जानकारी दिनुभयो ।

 नगर विकास कोषसँग भएको सम्झौताबमोजिम कूल आयोजना खर्चको ७० प्रतिशत रकम नगर विकास कोषबाट ऋण प्रवाह हुने तथा बाँकी ३० प्रतिशत रकम व्यास नगरपालिले बेहोर्ने आयोजनाले जनाएको छ । आयोजनाका अध्यक्ष श्रीराम कुँवरले आयोजना सुरु गर्दा ठुलो विरोध भएकोमा हाल आयोजनाको क्षेत्रफल बढाउनु पर्ने माग आएको बताउनुभयो । आयोजनाका अनुसार सो ऋण जग्गाधनीले पूर्वाधार निर्माणका लागि आरक्षित घडेरी [सेल्स प्लट] बिक्री गरी चुक्ता गर्ने छन् । जग्गाको चार किल्ला सिमाङ्कन गरी नापी तथा मालपोत कार्यालयको समन्वयमा चाक्ला बन्दी नक्सा तयार गरी सम्बन्धित जग्गा धनीलाई फिर्ता गरिने आयोजनाले जनाएको छ ।