सुर्खेत समाचारदाता
सुर्खेत, फागुन १ गते । कर्णाली प्रदेश सभाका संसदीय समिति अहिले सक्रिय बनेका छन् । नेतृत्वविहीन हुँदा निष्क्रिय झैँ बनेका समिति माघ १० गते संसदीय समितिलाई पूर्णता दिएपछि दिनहुँ जसो बैठक बसिरहेका छन् । सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति र अर्थ तथा प्राकृतिक स्रोत समितिमा नेतृत्व चयन नहुँदा निष्क्रिय झैँ भएका थिए । ती समिति निष्क्रिय हुँदा समितिम छलफल गर्नुपर्ने विधेयक त्यसै थन्किएका थिए । अहिले बैठक बसी विधेयक र विधेयक दफाबार छलफल भइरहेको छ । माघ १० पछि आजसम्म विकास समितिको पाँच वटा बैठक बसिसकेको छ । यस्तै सार्वजनिक लेखा समितिको आठ वटा र अर्थ तथा प्राकृतिक स्रोत समितिको पाँच वटा बैठक बसिसकेको प्रदेश सभा सचिवालयले जनाएको छ । यस्तै प्रदेश मामिला समितिको बैठक एक पटक बसेको छ ।
सामाजिक विकास समितिको सभापतिमा पूर्णबहादुर खत्री, सार्वजनिक लेखा समितिको सभापतिमा विन्दमान विष्ट र अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा दक्षिणा शाहीलाई सर्वसम्मत चयन गरिएको थियो । प्रदेश मामिला समितिमा यसअघि नै कल्याणी खड्का चयन भइसक्नुभएको थियो । सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले संसदीय समितिलाई पूर्णता दिएपछि विभिन्न समितिका बैठक धमाधम बसेर विधेयकमाथि गहन छलफल भइरहेको बताउनुभयो । समितिलाई पूर्णता दिएपछि समितिमा आएका विधेयकका साथै सरोकार राख्ने पक्षसँग छलफल भइरहेको उहाँको भनाइ छ । सामाजिक विकास समितिले दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई यथाशक्य अगाडि बढाउने र सामाजिक विकास समितिको कार्य सञ्चालन कार्यविधि, २०८० लाई कर्णाली प्रदेश सभा नियमावली, २०८१ बमोजिम गर्नुपर्ने संशोधनको मसौदा तयार गर्न समितिले सचिवालयलाई निर्देशन दिने निर्णय गरिएको छ ।
यस्तै सार्वजनिक लेखा समितिले पनि प्रदेशको बेरुजु घटाउन विभिन्न पक्षसँग छलफल गरिरहेको छ । बुधबार सार्वजनिक लेखा समितिले महालेखापरीक्षकको वार्षिक प्रतिवेदन अन्तर्गत सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश योजना आयोग, प्रदेश लोक सेवा आयोग र मुख्य न्यायाधिवक्ताको कार्यालयका शीर्षकमाथि दफावार छलफल गरेको छ ।
यसै गरी मङ्गलबार अर्थ तथा प्राकृतिक स्रोत समितिमा कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल भएको प्रदेश सभा सचिवालयले जनाएको छ । कर्णाली प्रदेश सभा बैठक आगामी आइतबार बस्दै छ । प्रदेश सभा बैठक नबसेको बेला अहिले मिनी संसद्का रूपमा परिचित संसदीय समिति सक्रिय बनेर विभिन्न विधेयक तथा शीर्षकमाथि छलफल गरिरहेको सूचना अधिकारी पौडेलले बताउनुभयो ।