• ३० माघ २०८१, बुधबार

नातिकाजी शब्द, सङ्गीत र स्वर सबैको कालजायी हुनुहुन्छ : मन्त्री पाण्डे

blog

सम्मानित प्रतिभाका साथमा राष्ट्रपति रामचन्द्र पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेलगायत ।

काठमाडौँ, माघ ३० गते। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले नातिकाजी शब्द, सङ्गीत र स्वर सबैको कालजायी त्रिवेणी भएको बताउनुभयो। 

बुधवार राष्ट्रपति कार्यालयमा आयोजित नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८० लाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो। 

उहाँले नातिकाजीका गीत सङ्गीतमा राष्ट्रभक्ति देश प्रेम ओतप्रोत भएको भन्दै अहिले पनि नेपालीलाई नेपालमा नै बसौ बसौ गाँउमा नै बसौ बसौ बनाउने भावना गीत सङ्गीत मार्फत गराउनुपर्ने बताउनुभयो।

भौतिक कुरा भन्दा अभौतिक कुरा महत्त्वपूर्ण हुने बताउँदै मन्त्री पाण्डेले नेपालीहरूको मनमा म नेपालमा नै बसेर केही गर्छु भन्ने अभौतिक भावनाको विकास गर्न सके भौतिक कुरा निर्माण गर्न सकिने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘भौतिक कुरा भन्दा भावना र अभौतिक कुरा महत्त्वपूर्ण हो। हामीले नेपाली युवामा नेपालमा नै केही गर्छु भन्ने भावनाको विकास गर्ने हो भने सडक, बिजुली सिँचाइ जस्ता सबै खाले पूर्वाधारको विकास गर्न सकिन्छ।’ 

मन्त्री पाण्डेले अभौतिक कुरा र भावनाको विकास गराउन गीत सङ्गीत र कला महत्त्वपूर्ण माध्यम हुने बताउनुभयो। उहाँले नेपाल भाषा, साहित्य, कला र संस्कृतिमा मात्र नभएर भूगोलमा पनि विविधता रहेको र यी कुरा नेपालको भौतिक विकास र समृद्धिको महत्त्वपूर्ण आधार भएको बताउनुभयो। 

उहाँले सरकारले नातीकाजी जस्ता कालजयी स्रष्टाको सम्मान गर्ने गरी सरकारले के गर्न सक्छ भन्ने विषयमा पनि छलफल गर्ने बताउनुभयो।