• ३० माघ २०८१, बुधबार

हल गोरु पाल्ने कृषकलाई अनुदान

blog

हल गोरु । फाइल तस्बिर

दमौली (तनहुँ), माघ ३० गते । यहाँको म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्ष झै यसवर्ष पनि हल गोरु पाल्ने कृषकलाई अनुदानको व्यवस्था गरेको छ । चालु आवका लागि हल गोरु पाल्ने कृषकलाई अनुदान वितरण गर्न १० लाख विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

 गोरु पाल्ने क्रम घट्दा बाँझो जग्गा बढेपछि कृषकलाई प्रोत्साहनका लागि अनुदान उपलब्ध गराउने नीति लिइएको अधिकारीको भनाइ छ । हलगोरु पाल्ने किसानलाई प्रति हल बढीमा चार हजारसम्म अनुदान दिइने छ । अनुदान लिन कम्तीमा तीन वर्ष हल गोरु पाल्ने र आफैँ खेत जोत्ने प्रतिबद्धतापत्र, निवेदक र हल गोरुको फोटोसहित निवेदन दिनुपर्ने प्रावधान छ । 

भिमाद नगरपालिकाले चालु आवको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत विभिन्न शीर्षकमा कृषकलाई अनुदान वितरण गर्ने तयारी गरेको छ । कृषकलाई कृषि सामग्री वितरणका लागि अनुदान दिइने प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले जानकारी दिनुभयो । सबै कार्यक्रममा ५० प्रतिशतका दरले अनुदान उपलब्ध गराइने उहाँको भनाइ छ । 

टनेल खरिद तथा वितरणका लागि एक लाख, तरकारी टनेल निर्माणका लागि दुई लाख ५० हजार, टनेल तथा नेट वितरणका लागि तीन लाख ५० हजार र टनेल प्लास्टिक निर्माणका लागि  एक लाख बजेट विनियोजन गरिएको छ । रासस