• ३० माघ २०८१, बुधबार

‘भ्रातृ संस्थामा आवधिक निर्वाचन नहुँदा पार्टीमा असर पुग्यो’

blog

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर।

गोरखापत्र अनलाइन

बुटवल, माघ ३० गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको विधानअनुसार नियमित महाधिवेशन हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाल मुस्लिम सङ्घ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता महरले लामो समय प्रमुख भातृ संस्थाको अधिवेशन हुन नसक्दा नेतृत्व हस्तान्तरणका साथै पार्टीको आन्तरिक जीवनमा असर पुगेको बताउनुभएको हो । 

महाधिवेशन प्रक्रिया रोकिँदा कांग्रेसको प्रजातान्त्रिक चरित्रमाथि समेत प्रश्न उठ्ने गरेको उहाँले औंल्याउनुभयो । लोकतन्त्रको पहिलो विशेषता आवधिक निर्वाचन हो। यो प्रक्रियाबाट पार्टी र भातृ तथा शुभेच्छुक संस्थालाई बाहिर्‍याउँदा लोकतन्त्रलाई कमजोर बनाउँछ। लोकतन्त्र कमजोर हुँदा पार्टीलाई क्षति पुग्छ । जनता पनि कमजोर हुन्छन्, उहाँले भन्नुभयो । 

यस विषयमा पार्टीको निर्णायक तहमा बसेका पदाधिकारी गम्भीर बन्नुपर्ने उहाँको भनाइ छ। महाधिवेशनका लागि गठित निर्देशक समिति जिम्मेवारी लिन प्रतिबद्ध देखिए पनि नेतृत्व प्रतिबद्ध नदेखिएको उहाँले बताउनुभयो। “समग्र पार्टी र मातहतका निकायले महाधिवेशन समयमै सम्पन्न गर्नका लागि सहयोग गर्नु आवश्यक छ । पार्टीमा बढीभन्दा बढी युवालाई जोड्ने महाधिवेशनका माध्यमले हो। समयमै महाधिवेशन सम्पन्न नगर्ने चरित्रले पार्टी र लोकतन्त्र बलियो हुन सक्दैन” उहाँले भन्नुभयो ।  

चैतभित्रै महाधिवेशन गर्ने केन्द्रीय समितिको निर्णय कार्यान्वयन हुनुपर्ने र कुनै बहानामा ढिलाइ गर्न नहुनेमा महरको जोड छ । नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घलगायत भातृ संस्थाको अधिवेशन हुन सकेको छैन।