• ३० माघ २०८१, बुधबार

अपाङ्गता भएकालाई सहायता सामग्री

blog

अपाङ्गता भएका नागरिकलाई ह्विल चियर प्रदान गरिँदै ।

इमान सिं राना

रामपुर (पाल्पा), माघ ३० गते । पूर्ण अपाङ्गता भएका नागरिकलाई सहायता सामग्री प्रदान गरिएको छ । जिल्लाको रामपुर नगरपालिका–७ का नौ जना पूर्ण अपाङ्गता भएका नागरिकलाई सहायता सामग्री ह्विल चियर प्रदान गरिएको हो ।

हिँँड्न नसक्ने र परिवारका सदस्यको सहयोगमा रहेका नागरिकहरूको आवश्यकतालाई मध्यनजर गर्दै रामपुर नगरपालिका ७ कार्यालयले वडाको बजेट र जापानी समाजसेवी काजुमासा काकिमी (ओके) बाजेको सहयोगमा ह्विल चियर प्रदान गरेको हो । वडाभित्र रहनुभएका क वर्गका पूर्ण अपाङ्गता भएका नागरिकहरूमध्ये आवश्यकताको आधारमा यस पटक नौ जनालाई सहायता सामग्री प्रदान गरिएको रामपुर–७ का वडाअध्यक्ष दोबराज तिवारीले बताउनुभयो।

ह्विलचियर वितरण गर्दै जापानी समाजसेवी काजुमासा काकिमीले शारीरिक रूपमा अशक्त व्यक्तिहरूको दैनिकीमा सहज होस् भनेर उद्देश्यले ह्वीलचियर प्रदान गरेको बताउनुभयो । रामपुर नगरपालिका–७, का बल बहदुर राना, लाल प्रसाद पाठक, राम प्रसाद श्रेष्ठ, सन्जु पौडेल, पार्वती अधिकारी, रोहित सुनार, डुनाकला मानन्धर र सरिता विकलाई ह्वीलचियर प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । 

अपाङ्गता सहायता सामग्री वितरण कार्यक्रमका लागि वडाबाट विनियोजन भएको ५० हजार र ओकेबाजेबाट प्राप्त ६१ हजार गरी एक लाख ११ हजार रुपियाँ लागतमा सहायता सामग्री प्रदान गरिएको वडा सचिव गिता लम्साल पौडेलले जानकारी दिनुभयो ।