गुणबहादुर रोका
सुलीकोट, माघ ३० गते । गोरखाको सहिद लखन गाउँपालिका–६ स्थित घैरुङमा रहेको घैरुङ स्वास्थ्य चौकी भवन भूकम्पले भत्काएको नौ वर्षपछि निर्माण सम्पन्न भएको छ । २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी महाभूकम्पले क्षति भएको भवन झन्डै नौ वर्षपछि निर्माण सम्पन्न भएको हो ।
सहिद लखन गाउँपालिकाको घैरुङ स्वास्थ्य चौकी दुई तलाको ४५ कोठे पक्की भवन निर्माण गर्नका लागि खानी निर्माण सेवा प्राइभेट लिमिटेड कम्पनीसँग २०७८ साल असार १६ गते सम्झौता भएको थियो । सम्झौतामा २०८० फागुन मसान्तसम्म भवन निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । समयमा काम सम्पन्न नभएपछि निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै २०८१ फागुन मसान्तसम्म म्याद थपिए अनुसार काम सम्पन्न भएको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशकुमार थापामगरले जानकारी दिनुभयो ।
घैरुङ स्वास्थ्य चौकी भवन निर्माणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालय र भारत सरकारको सहयोगमा कुल बजेट आठ करोड ५४ लाख छ हजार एक रुपियाँमा सङ्घीय कार्यान्वयन एकाइ पोखरा र निर्माण कम्पनीबिच सम्झौता भएको हो । निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी भवनमा पक्की दुई तलाको ४५ कोठा रहेको छ । आगामी चैत्रबाट सबै सेवा नयाँ भवनबाट दिने गरी तयारी थालिएको छ । ४५ कोठेसहित सुविधा सम्पन्न अपाङ्गमैत्री भवन निर्माणसँगै सबै प्रवाह सहज हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । भूकम्पले भवन पूर्ण रूपमा भत्किएपछि यसअघिनजिकै रहेको हिमालय माविको कक्षा कोठाबाट स्वास्थ्य सेवा सञ्चालन भइरहेको थियो ।