दैलेख समाचारदाता
दैलेख, माघ ३० गते । आमाबुवाले गरेको गल्तीका कारण निर्दोष दुई बालबालिका कारागारमा बस्नु परेको छ । बुवाआमाले बहुविवाह गरेपछि उनीहरूबाट जन्मिएका दुई सन्तान कारागारमा बस्नु परेको हो । जिल्ला कारागार दैलेखका अनुसार एक महिला कैदीबन्दी र एक थुनुवा महिलाका बालबालिका आमासँगै कारागारमा बस्नु परेको छ । जिल्ला कारागार प्रमुख लुना गिरीले बहुविवाह मुद्दामा जिल्ला अदालतबाट फैसला भएका दुई महिला कैदीबन्दीका नाबालक आमासँगै बसेको बताउनुभयो ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ की खजुरा नेपाली २०८० कात्तिक १ गते थुनामा पर्नुभएको थियो । जिल्ला अदालत दैलेखले बहुविवाह मुद्दामा एक वर्ष सात महिना कैद सजाय सुनाएको थियो । उहाँकी एक वर्षकी छोरी छन् । उहाँका श्रीमान् रमेश नेपालीलाई समेत एक वर्ष सात महिना कैद सजाय सुनाइएको छ ।
दुल्लु नगरपालिका–३ की तारा शाही पनि बहुविवाह मुद्दामा २०८१ पुस २९ गते थुनामा पर्नुभएको छ । उहाँको २० महिनाको छोरा छ । प्रहरीले जाहेरीका आधारमा उहाँका श्रीमान् राजेन्द्र महतलाई पनि पक्राउ गरी जिल्ला अदालत दैलेखमा मुद्दा चलाएपछि थुनुवाका रूपमा जिल्ला कारागारमा पठाएको हो । पाँच वर्षभन्दा कम उमेरका बालबालिका आमा थुनामा रहेको समयमा घरमा हेरचाह र संरक्षण गर्ने व्यक्ति नभएपछि आमासँगै राख्न पाउने व्यवस्था अनुसार उनीहरूलाई कारागारमै राखिएको कार्यालय प्रमुख गिरीले जानकारी दिनुभयो । उहाँले बहुविवाह मुद्दामा आएका उनीहरूको सजायको कैद भुक्तान गरिसकेपछि मात्र बालबालिका उनीहरूसँगै घर जाने बताउनुभयो ।