अविनाश चौधरी
धनगढी, माघ ३० गते । गैरसरकारी संस्था (एनजिओ) हरूले विदेशबाट रकम ल्याएर नेपालमा गरिरहेको खर्च र तत्पश्चात भएका उपलब्धिको गृह मन्त्रालयले खोजबिन सुरु गरेको छ । त्यसका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई विवरण सङ्कलन गरेर मन्त्रालयमा पठाउन निर्देशन दिइएको गृहमन्त्री रमेश लेखकले बताउनुभयो ।
मन्त्रालयले मुलुकभरि नै एनजिओहरूले गरिरहेको खर्च र भएका उपलब्धिको विवरण सङ्कलन गर्न लागेको हो । धनगढीमा पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “प्रत्येक जिल्लामा रहेका एनजिओहरूले कहाँ कहाँबाट कति कति रकम प्राप्त गरेका छन् ? त्यो रकम कसरी खर्च भएको छ ? त्यसले हाम्रो समग्र विकास प्रणाली, आर्थिक, सामाजिक, वातावरणीय क्षेत्रमा कस्तो प्रभाव परेको छ ? त्यसको अध्ययन गर्न र रिपोर्ट मन्त्रालयमा पठाउन भनेका छौँ ।”
गृहमन्त्री लेखकले एनजिओ अथवा अन्य सहयोगी राष्ट्र वा संस्थामार्फत मुलुकमा प्रत्येक वर्ष अर्बौं अर्ब रुपियाँ खर्च भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ती रकमले हाम्रो आर्थिक विकास, उन्नति, सामाजिक विकास, उन्नति र समाजमा के कस्तो प्रभाव परिरहेको छ ? ठिक ढङ्गले सदुपयोग भएको छ कि छैन, अथवा दुरुपयोग भएको छ, कसरी खर्च भइरहेको छ ? त्यो हेर्नु पर्छ भन्ने अवधारणा सरकारले बनाएको छ ।”
लेखकले नेपाल सरकारले खर्च गर्ने रकम जसरी महालेखा परीक्षकमार्फत लेखापरीक्षण हुने कार्य भइरहेको छ, त्यसरी एनजिओका रकमलाई पनि लेखापरीक्षण गर्नुपर्ने औँल्याउनुभयो । “विदेशबाट जे जसरी रकम आउँछ, त्यो सबै अब हाम्रो राष्ट्रिय लेखा प्रणालीभित्र आउनु पर्यो,” उहाँले भन्नुभयो, “साथसाथै सम्बन्धित कानुन पनि सुधार गरिनु पर्दछ ।”
सरकारले एनजिओहरूलाई नियन्त्रण गर्न नखोजेको उल्लेख गर्नुहुँदै गृहमन्त्रीले यस कार्यले गैरसरकारी संस्थाहरूलाई झन् राम्रो गर्ने बताउनुभयो । राष्ट्रिय लेखा प्रणालीभित्र ल्याएमा एनजिओहरूको पारदर्शिता, स्वच्छता हुने भन्दै उहाँले थप्नुभयो, “यसले राम्रो काम गर्नेलाई झन् प्रोत्साहन गर्छ । कसले कति काम गर्यो भन्ने पनि देखिन्छ ।” लेखकले नीतिगत सुधारमा सरकारको प्राथमिकता रहेको बताउनुभयो । “यो भनेको कानुनी र संरचनागत सुधार हो,” उहाँले भन्नुभयो ।
व्यावसायिक वातावरणको सुनिश्चितता र सुशासनको प्रत्याभूतिका लागि सरकारले दुई वटा अध्यादेश जारी गरेर सङ्घीय सदनमा प्रस्तुत गरेको गृहमन्त्री लेखकको भनाइ थियो । उहाँले ठिक समयमा दुवै अध्यादेश पारित गरिने बताउनुभयो ।