धर्बेन्द्र झा
जनकपुरधाम, माघ २९ गते । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण, सम्बर्धन र प्रबर्धनका लागि आयोग क्रियाशील रहेको बताउनुभएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयले मंगलबार जनकपुरधाममा आयोजना गरेको मानव अधिकारको अवस्था बिषयक् अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनै पनि मानव अधिकार उल्लङ्घनको विषयमा अध्ययन अनुसन्धान गरी सरकारलाई सिफारिस गर्ने मात्र अधिकार आयोगको रहेको भन्दै आयोगले गरेको सिफारिस कार्यान्वनका लागि सरकारलाई नागरिक समाज र पत्रकारले पनि दवाव दिनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले मधेश प्रदेशमा मानव अधिकारको अवस्था बुझ्नका लागि आफू जनकपुरधाम आएको भन्दै आजको कार्यक्रममा उठेको विषयवस्तुलाई आयोगले गम्भीरतासाथ लिएको बताउनुभयो । उहाँले जातीय विभेद गर्नु हुँदैन भन्ने कुरा संविधानमै उल्लेख भए पनि मधेश प्रदेशमा भइराखेको र यो जनचेतनाको अभावमा हुने गरेकाले यस्ता विषयमा हामीले जनचेतना फैलाउनु पर्ने बताउनुभयो ।
उहाँले जातीय विभेदका विषयमा राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारले गठन गरेको दलित आयोगसँगको समन्वयमा अगाडि बढने बताउँदै साइवर क्राइमसहितका धेरै नयाँ कुरा आइसकेकाले यस्ता विषयलाई पनि आयोगले गम्भीर रुपमा हेरिरहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले प्रहरी हिरासतमा दिने यातनाका विषयमा आयोग गम्भीरतासाथ अघि बढेको भन्दै आयोगलाई सक्रिय बनाउने काममा नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालय जनकपुरधामका प्रमुख बुद्धनारायण सहिनीले आयोगले संविधानले दिएको म्यान्डेडअनुसार कामकाज गर्दैगरेको भन्दै हाल ४८६ वटा उजुरी मधेश प्रदेश कार्यालयमा विचाराधीन अवस्थामा रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले मधेश प्रदेशमा शान्ति सुरक्षाको अवस्थामा केही सुधार भए पनि सामाजिक न्यायको विषय र आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको अवस्था राम्रो नरहेको बताउनुभयो ।
बक्ताहरुले मधेश प्रदेशमा महिला र बालबालिका बढी प्रताडित हुने गरेकोबारे आयोगलाई जानकारी गराएका थिए । कार्यक्रममा मधेश प्रदेशमा मानव अधिकार रक्षाका लागि काम गर्ने संघ संस्थाका प्रतिनिधि र पत्रकारको सहभागिता रहेको थियो ।