जीवछ यादव
लहान, माघ २९ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभएको छ। सगरमाथा चौधरी आँखा अस्पताल लहानको ४२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
यस वर्षको बजेटमा प्रदेशस्तरीय एक सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको भन्दै उहाँले तीन शय्याको अस्पतालमा ५० जना एमबिबिएस उत्पादन गर्नेगरी काम अघि बढिसकेको र थप चार वटा अस्पताल सुचारु गर्ने बताउनुुभयो ।
मुख्यमन्त्री सिंहले भन्नुभयो, ‘अस्पताल रातारात सञ्चालनमा ल्याउन सकिँदैन। यसका लागि पूर्व तयारी र बजेट विनियोजन आवश्यक हुन्छ। हामी सरकारमा आउँदा तीन दिनको समयमा बजेट ल्याउनुपरेकोले सोचे अनुसारको काम हुन सकेन।यस आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको बजेट फराकिलो हुने गरी आउनेछ ।’
लहानको खुटी नहर सञ्चालनमा ल्याउन प्रदेश सरकारबाट यस वर्षको बजेट विनियोजन गरिने उहाँले विश्वास दिलाउनुभयो। लहानमा निर्माण शिल्यान्यास भई अलपत्र परेका शीत भण्डार निर्माणका लागि प्रक्रिया मिलाउन निर्देशन दिइसकेको मुख्यमन्त्री सिंहले प्रष्टयाउनुभयो।
यो भन्दा अघि जनता समाजवादी पार्टीले सात वर्षसम्म सरकार चलाउँदा कुनै पनि आर्थिक वर्षमा ४० प्रतिशतभन्दा बढी काम गर्न नसकेको बताउँदै मुख्यमन्त्री सिंहले त्यस कार्यकालका एघार हजार योजना अपुरा र अधुरा रहेको जानकारी गराउनुभयो।
यस वर्ष सगरमाथा चौधरी आँखा अस्पतालला ४२ वर्षमै सबेभन्दा बढी सात लाख बिरामीको उपचार र ६५ हजार ९३५ बिरामीको शल्यक्रिया गरेर गौरव गर्ने सफलता हासिल गरेको अस्पतालका प्रमुख सञ्जय सिंहले जानकारी गराउनुभएको छ।
कार्यक्रममा अस्पतालका जग्गा दाता स्वर्गीय छविलाल चौधरी र सरोवरलाल चौधरी, अस्पतालका संस्थापक जर्मन नागरिक अल्ब्रेच्ड हेनिङ र क्रिचिना हेनिङगप्रति सम्मान व्यक्त गरिएको थियो।
कार्यक्रममा लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरी, सिरहा नगरपालिका प्रमुख नवीन यादव धनुषाधाम नगरप्रमुख बालेश्वर मण्डल उदयपुर त्रियुगाा नगरपालिका प्रमुख बसन्त बस्नेत र लक्ष्मीपुर पतारी गाउँपालिका प्रमुख चतुरानन्द ठाकुरलाई अस्पतालसम्म बिरामी पुर्याएर गरेको योगदानको कदर गरी दोसल्ला ओढाएर सम्मान गरिएको थियो।कार्यक्रममा प्रदेशसभा सदस्य राजकुमार गुप्ता राजेन्द्रप्रसाद चौधरी र सिरहा जिल्ला समन्वय प्रमुख दिनेशकुमार महतोको उपस्थिति थियो।