• २९ माघ २०८१, मङ्गलबार

मन्दिरमा दान पेटिका राखिएपछि पुजारी असन्तुष्ट

blog

धनुषाधामस्थित धनुष मन्दिरमा राखिएको दान पेटिका । तस्बिरः विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, माघ २९ गते । धनुषाको धनुषाधामस्थित प्रसिद्ध धनुष मन्दिरमा दान पेटिका राखिएपछि त्यहाँका पुजारी असन्तुष्ट बन्नुभएको छ । गत शनिबार मेला व्यवस्थापन समितिको पहलमा मन्दिरमा पहिलो पटक दान पेटिका स्थापना गरेको थियो ।

दान पेटिका राखेपछि मन्दिरका पुजारी भरतदास खुसी नभएको मेला व्यवस्थापन समितिले जनाएको छ । मेला व्यवस्थापन समितिका अध्यक्ष सुनिल यादवले मन्दिरको विकास र धार्मिक कार्यका लागि स्रोत सङ्कलन गर्न मन्दिरमा दान पेटिका स्थापना गरिएको बताउनुभयो । 

मन्दिरको पुजारी दास र स्थानीय जनप्रतिनिधिलगायत केही स्थानीयको सल्लाहमा दान पेटिका राखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सो दान पेटिकामा धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले पाँच हजार ५१ रुपियाँ राख्दै यसको औपचारिक सुरुवात गर्नुभएको थियो । तर दान पेटिका राखेको भोलिदेखि पुजारी दास मन्दिरमा आउन छोड्नुभएको छ । 

उहाँले भन्नुभयो, “दान पेटिकामा सङ्कलन भएको भेटीबाट सबैको सल्लाहले पुजारीलाई उचित खर्च दिने सहमति भएको थियो । त्यो सहमति पुजारीले पनि मान्नुभएको थियो तर उहाँ मन्दिरमा किन आउन छाड्नु भयो त्यो थाहा भएन ।” 

यसअघि दर्शनार्थीले चढाएको भेटी पुजारीले व्यक्तिगत रूपमा प्रयोग गर्दै आउनुभएको थियो । अब दानपेटिकामा भेटी जम्मा हुन थालेपछि आफ्नो आम्दानी गुमेको महसुस गर्दै पुजारी असन्तुष्ट बनेको हुनसक्ने स्थानीयको भनाइ छ । 

स्थानीयले पुजारीमा पैसाको लोभ देखिएको आरोप लगाएका छन् । अब यो मन्दिरलाई ट्रस्ट तथा व्यवस्थापन समिति गठन गरेर व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्छ । दान पेटिकाको स्थापना सकारात्मक कदम भएको स्थानीयको भनाइ छ । 

मन्दिरका पुजारी दासले दान पेटिका स्थापनाबाट आफ्नो कुनै असन्तुष्टि नभएको बताउनुभयो । राख्ने तरिका गलत भएको उहाँले प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “म सधैँ मन्दिर जाने गरेको छु । यो राख्नुअघि समाजबिच छलफल हुनपर्ने थियो । दैनिक हजारौं दर्शनार्थी आउने धनुष मन्दिर व्यवस्थित होस् भन्ने मेरो चाहना हो ।” 

धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले दान पेटिकाले मन्दिर विकासका लागि महत्त्वपूर्ण स्रोत जुट्ने बताउनुभयो । उहाँले केही दिनमै बृहत् भेला गरेर मन्दिर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिने जानकारी दिनुभयो । 

नगर प्रमुख मण्डलका अनुसार मन्दिरलगायत यस क्षेत्रमा पर्यटक आकर्षण गर्नेखालका थप संरचना निर्माणका लागि डिपिआरको काम भइरहेको छ । जिल्लाको दोस्रो ठुलो धार्मिक स्थलको रूपमा स्थापित यस ठाउँमा नेपालका विभिन्न स्थान तथा भारतबाट भक्तजन यहाँ आउने गरेको नगर प्रमुख मण्डलले बताउनुभयो ।