चाँदनी आचार्य
घोडाघोडी (कैलाली), माघ २९ गते । कैलालीको घोडाघोडी नगरपालिकाका विपन्न, सीमान्तकृत समुदायलाई सरकारले सुरक्षित आवास निर्माण गरिदिएपछि उनीहरुमा खुशी छाएको छ । वर्षातको झरी र गर्मीबाट ओत लाग्ने गतिलो घर नभएका विभिन्न वडाका विपन्न परिवारले पक्की घर पाएपछि दिनभर ज्याला मजदुरी गरे पनि राती आनन्दको निद्रा आउने भन्दै खुशी व्यक्त गरे ।
नगरपालिकाले विभिन्न चरणमा निर्माण गरेका १२ वटा घर सीमान्तकृत समुदायलाई हस्तान्तरण गरेको छ । वडा नम्बर ४ सिम्थरीमा निर्माण गरिएका ६ वटा आवास र वडा नम्बर ९ गोदनीमा निर्माण गरिएका ६ वटा सुरक्षित आवास सोमबार उनीहरूलाई हस्तान्तरण गरिएको हो । घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडकबहादुर रावतले ती परिवारहरूलाई एक कार्यक्रमबिच सुरक्षित आवास हस्तान्तरण गर्नुभएको हो ।
आवास हस्तान्तरण कार्यक्रममा सहभागी उनीहरुको मुहारमा छुट्टै खुशी देखिएको थियो । आवासविहीनहरुका लागि नगरपालिकाले सबै वडामा सुरक्षित आवास बनाइदिने योजना रहेको नगरप्रमुख रावतको भनाइ थियो ।
उहाँले भन्नुभयो, “आवासविहीन भएका मुक्त कमैया, दलित, भूमिहीन र सुकुम्वासीहरूको घर बनाउने काम नगरपालिकाले गरेको छ । नगरपालिका त्यो वर्ग त्यो समुदायलाई सुरक्षित आवासमा बस्ने वातावरण सृजना गरेर अगाडि बढेको छ ।”
आफ्नो कार्यकालमा नगरपालिकाभित्रका सबै वडाहरूमा सीमान्तकृत वर्गहरूको सुरक्षित आवास बनाएर हस्तान्तरण गर्ने योजना रहेको उहाँले बताउनुभयो। आर्थिक वर्ष २०७९।०८० मा वडा नम्बर ३ मा १२ वटा सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गरिएको जनाउँदै उहाँले आर्थिक बर्ष ०८१।०८२ मा वडा नम्बर ५,७,१० र १२ मा गरी २७ वटा सुरक्षित आवास निर्माणको काम अगाडि बढेको जानकारी दिनुभयो ।
दुई वटा कोठा र एउटा शौचालयसहितको पक्की जस्तापाताले छाएको घर निर्माणका लागि नगरपालिकाको ५८ प्रतिशत र ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्कको ४२ प्रतिशत सहयोग रहेको जनाइएको छ । लाभग्राहीको श्रमसहित सातलाखमा एउटा घर निर्माण भएको जनाइएको छ ।
ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क र घोडाघोडी नगरपालिकाको लागत साझेदारीमा १२ वटा घर निमार्ण गर्न घोडाघोडी नगरपालिकाको ४२ लाख, ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क नेपालको २४ लाख र जनश्रमदान ९ लाख ५ हजार ५ सय २ दुई रुपियाँ लागत साझेदारीमा सुरक्षित आवास निर्माण गरिएको हो ।
वडाहरूको सिफारिसमा आवासविहीन भएका सीमान्तकृत वर्गहरूलाई लागत साझेदारीमा घोडाघोडी नगरपालिकाले सुरक्षित आवास निर्माण गरिदिएको हो। यसअघि पालिकाले वडा नम्बर ३ सृष्टिनगर मुक्त कमैया परिवारलाई १२ वटा सुरक्षित आवास हस्तान्तरण गरिसकेको छ ।