अर्जुन काफ्ले
स्याङ्जा, माघ २९ गते। अर्जुनचौपारी गाउँपालिका–१ जलवराह धार्मिक वनमा नेपालमै पहिलो पटक नवग्रह मन्दिर निर्माण गरिएको छ। नेपालमा ग्रहकै मात्र पूजा गरिने मन्दिर नभएको अवस्थामा यहाँ पहिलो पटक नवग्रह मन्दिर निर्माण गरिएको हो।
घर तथा शक्तिपीठको एक नवग्रहको प्रतिमा राखेर पूजा गर्ने गरिएकोमा नेपालमै नवग्रह मन्दिरको दर्शन तथा पूजा अर्चना गर्न पाइने भएको हो। भारतको असम चित्रसाल र लखनउमा नवग्रह मन्दिर रहेकोमा यहाँ बनाइएको नवग्रह मन्दिर फरक रहेको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो।
१५७ रोपनी अर्थात् आठ हेक्टर क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा नवभुज आकारको २७ फिट अग्लो नवग्रह मन्दिर बनाइएको हो। पिलरको सबैभन्दा माथि आकाश फर्काएर सौर्यमण्डलीय ब्रमाण्डको प्रतीक राखिएको छ भने यहाँको प्रतीमा हिन्दुधर्मका कहलिएका धार्मिक ज्योतिषीको निर्देशनमा नवर्दा नदीको शिलाबाट भारतमा बनाइएको हो।
पिलरको १४ फिटमा सूर्य, शुक्र, केतु, चन्द्र, मङ्गल, बुध, शनि, बृहस्पति र राहुका प्रतीक राखिएको छ भने पिलरको नौ वटा भुजामा ग्रह अनुसारका रङ लगाइएको छ।नवग्रह मन्दिरसँगै षट्कोण शिवालय बनाइएको छ भने षट्कोणको बिचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङ्ग (सात क्वीन्टलक) र कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्ति राखिएको छ।
मन्दिरमा षट्कोणको एक छेउबाट प्रवेश गरेर गणेश, कुलदेवता (तेलको पोखरी), स्ष्टदेवताको पूजा गरेर बिचमा रहेको पञ्चमुखी शिवलिंगको दुई पटक घुमेर पूजा गरेसँगै हनुमान, लक्ष्मी, कालभैरवको पूजा गरेर बाहिर निस्किने बनाइएको छ।
षट्कोण शिवालयको पूजा पश्चात देवरे छेउँबाट हिँडेर करिब तीन सय मिटर टाढा रहेको वर्षौदेखि पूजा अर्चना गरिँदै आएको पञ्चकन्याको मन्दिरको दर्शन गरिने छ।त्यस पश्चात विपरितबाटो दियो आकारको पूर्वतर्फ फर्केको नवग्रह मन्दिर पुगिने छ।नौ चक्रमा रहेको मन्दिरको एक ठाउँबाट छिरेर परिक्रमा सहितको पूजा गरेपछि सुरुङबाट बाहिर निस्कने छ।
यहाँ नव्रग्रह यन्त्र, शिवयन्त्र र एक मण्डला समेत निर्माण गरिएको छ भने मन्दिरमा विवाह नहुने हुदाँ सँगै रहेको राधाकृष्ण मन्दिरको मर्मत समेत गरिएको छ।यहाँ षट्कोण शिवालयका मूर्तिको अस्तित्वमा रहेको कर्णको मूर्ति नवग्रह फर्काएर करिब तीन मिटर पूर्वको जङ्गलमा राखिएको छ।
नवग्रह मन्दिर शनिबार मात्र खुला हुनेछ भने नौमध्ये एक चक्रमा भने हरेक दिनमा पनि पूजा गर्न सकिने छ।सौर्यमण्डलीय ब्रमाण्डको मूर्ति भने हरेक वर्षको गणेश चतुर्थीमा हेर्न पाइने छ भने सो दिन पालिका नै बिदा गरेर पूजा गरिने छ।
षट्कोण, नवग्रह तथा यहाँ हिड्ने बाटोमा स्थानिय ढुड्ढा बिच्छाएर कलात्मक बनाइएको छ भने दुबो बिच्छाएर हरिया र सुन्दर बनाइएको छ।
मूल नवग्रह मन्दिर पालिकाको वडा नं –१ मा रहे पनि अन्य नौ वटा निशान प्रतीमा पालिकाका अन्य पाँच वडा तथा भौगोलिक स्वरूप ब्रम्हाणीय स्वरूपमा घुमेर रहेको भीरकोटको वडा नं–७, पुतलीबजार न.पा–१३, १४ र आँधीखोला गापा–१ मा निशान प्रतिमालाई आलोपालो पूजा गर्ने प्रबन्ध मिलाइने छ भने नौ वर्षमा सबै निशान पहिलाको ठाउँमा पुग्ने छन्।
नव्रग्रह मन्दिर बनेको यस जल वराह धार्मिक वन भित्र ग्रह अनुसारका बिरुवा समेत रोपिखएको छ।प्रदेश सरकारको विशेष अनुदान ४० लाख र गाउँपालिकाको १९ लाख तथा प्रधानमन्त्री रोजगार श्रमबाट नवग्रह मन्दिर निर्माण गरिएको हो।
प्राण प्रतिष्ठा तथा अनुष्ठान
नवग्रह मन्दिर बनेसँगै पालिकाले प्राण प्रतिष्ठा तथा अनुष्ठान महाशिवरात्रीको अवसर पारेर गर्ने तयारी गरेको छ।यही फाल्गुन ६ देखि १४ गते सम्म एक करोड २५ लाख दिप प्रज्वलन गरी भव्य रूपमा अनुष्ठान गर्ने गाउँपालिकाको तयारी गरेको छ ।
विरलै आउने महाकुम्भको समय अत्यन्त शक्तिशाली र पवित्र हुने हुँदा यसै अवसरमा अनुष्ठान सम्पन्न गर्ने गरी पालिकाले नवग्रह मन्दिरको निर्माण गरेको हो।आचार्य श्री चैतन्य कृष्ण महाराज गुरु प्रमुख वाचक रहने प्राण प्रतिष्ठा तथा अनुष्ठानमा राधिका दाशी, केएन स्वामी, लोकानन्द स्वामी लगायतले धार्मिक प्रवचन र देवी घर्ती, राजु ढकाल, खुमन अनधिकारी लगायतका कलाकारले मनोरञ्जन दिने छन् ।