काठमाडौं, माघ २९ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपली विद्यार्थी विपिन जोशीको रिहाइका लागि भइरहेको पहलबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ ।
मङ्गलबारको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले बाहिर जोशी जीवितै रहेको सुनिने गरे पनि सरकारले औपचारिक जानकारी नदिएको बताउनुभयो ।
उहाँले जोशीको रिहाइका लागि सरकारले के प्रयत्न गरिरहेको छ ? भन्दै प्रश्न गर्नुभयो ।
‘‘इजरायल र हमासको बिचमा जुन द्वन्द्व भयो त्यसबाट पचासौँ हजार मान्छे मरे । दुई पक्षबिच शान्ति सम्झौता भएपछि कैयौं देशका गिरफ्तारीमा परेका नागरिक रिहाइ भए । तर कञ्चनपुरका विपिन जोशीको अत्तोपत्तो छैन ।,’’ उहाले भन्नुभयो, ‘‘यसबारे सरकारले संसदलाई जानकारी गराउनुपर्दैन ? बाहिर बाहिर सुनिन्छ ,उहाँ जिउँदै हुनुहुन्छ भन्ने । सरकारले जिउँदै हुनुहुन्छ भनेर मात्र जिम्मेवारी पूरा हुन्न । सरकारले उहाँको रिहाइका लागि सरकारले के प्रयत्न गरिरहेको छ ? कस्तो सङ्घर्ष गरिरहेको छ । यो संसदलाई जानकारी होस् ।’’
७ अक्टोबर २०२३ मा इजरायल गाजासीमा क्षेत्रमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परी चार जना घाइते भएका थिए भने जोशीलाई हमास समूहले नियन्त्रणमा लिएर गाजातर्फ लगेको थियो । उहाँको अवस्था अझै अज्ञात छ ।