जनार्जन खत्री
सर्लाही, माघ २९ गते । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको गोडैता नगरपालिका –१२, मधुवनीमा १६ कोठे विद्यालय भवन निर्माण गरिएको छ । सङ्घीय सरकार र गोडैता नगरपालिकाको संयुक्त लगानीमा समपुरक अनुदान अन्तर्गत बैजनाथ माध्यमिक विद्यालयमा दुुई करोड ८० लाख ८६ हजार ९५० रुपियाँ खर्चिएर दुुई तले १६ कोठे भवन तयार पारिएको हो ।
नवनिर्मित विद्यालय भवनको सोमबार साँझ प्रतिनिधिसभा सदस्य एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारी र नगरप्रमुख देवेन्द्र यादवले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
विद्यालय भवनको उदघाटन गर्दै प्रतिनिधिसभा सदस्य ठाकुर र प्रदेश सरकारका शिक्षामन्त्री शर्माले सुविधा सम्पन्न भवन प्राप्त गरेको विद्यालयलाई गुणस्तरीय पठनपाठनमा उत्तिकै ध्यान केन्द्रीत गर्न सुुझाव दिनुुभयो ।
विद्यार्थीको अधिक चाप रहेको विद्यालयमा अब कक्षाकोठाको अभावमा विद्यार्थी राख्न मुस्किल पर्ने अवस्थाको अन्त्य भएको भन्दै प्रधानाध्यापक राकेशकुमार मण्डलले खुसी व्यक्त गर्नुभयो ।
नगरभित्रका सामुदायिक विद्यालयमध्ये विद्यार्थीको चाप धेरै रहेको सूचीमा पर्ने मधुवनी माविमा कक्षाकोठाको अभावलाई मध्यनजर गरी सङ्घीय सरकारसँगको पहल र नगरको समेत ठूलो बजेट खर्चिएर भवन तयार पारिएको नगरप्रमुख यादवले बताउनुुभयो ।
गोडैता नगरपालिका –१२ का वडाध्यक्ष केशव कुमारले सीमाभेगका विद्यालयमा प्रायः विद्यार्थीको अभाव रहे पनि मधुवनीको यस विद्यालयमा भने विद्यार्थीको अत्यधिक चाप रहेको बताउनुुभयो ।