• २९ माघ २०८१, मङ्गलबार

भौगोलिक र विकट क्षेत्रबाट सेवा लिनै समस्या

blog

सदरमुकाम तम्घासदेखि भौगोलिक रुपले विकट कालीगण्डकी गाउँपालिकाको गाउँबस्ती । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, माघ २९ गते । सदरमुकाम तम्घासदेखि भौगोलिक हिसावले टाढा रहेका स्थानीयहरुलाई प्रशासननबाट सहज रुपमा सेवा लिन समस्या हुने गरेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाबाट सदरमुकाम जानका लागि झण्डै छ देखी आठ घण्टा लाग्छ । 

नागरिकता र राहदानी बनाउनका लागि तम्घास पुग्दा करिव दुईदेखि तीन बज्ने र त्यस दिनको लागि राहदानीलगायतका कार्य गर्नका लागि टोकन सकिइसक्ने समस्याले यहाँका स्थानीयहरुलाई समय र पैसा दुबै खर्चिलो हुने गरेको छ । कहिलेकाँही त दुई दिन अगावैको टोकन वितरण हुने हुँदा तीन दिनसम्म प्रशासनबाट सेवा लिन पालो पर्खिनुपर्ने अवस्था आउने गरेको छ ।

कालीगण्डकी गाउँपालिका १ हर्मिचौरका रोमकान्त पाण्डेले केही महिना पहिले भाइको राहदानी बनाउनकै लागि तीन दिन पालो कुर्नुपर्ने अवस्था आएको दुःखेसो पोख्नुभयो । यस्तै सोही गाउँपालिका ३ का इश्वरी बिकले पनि विकटबाट जाँदा समय घर्किने भएकाले सोही दिन प्रशासनबाट सेवा पाउन नसकेको बताउनुभयो ।

यही समस्याका कारण केही महिना पहिले कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले पालिकाभित्रका नागरिकले सहज रुपमा सेवा नपाएको झोकमा प्रशासनको स्क्यानर नै फुटाउनुभयो। विकटबाट आउने सेवाग्राहीले सहज रुपमा सेवा नपाएको र राहदानी बनाउनकै लागि लामो समय खर्चिनुपर्ने भएकाले आफूले जनताको आवाज उठाएको उहाँको भनाइ छ । 

गुल्मीको सुदुरपूर्वलाई मध्यनजर गर्दै यस क्षेत्रमा इलाका प्रशासन आवश्यक रहेको  नेपाली काँग्रेस गुल्मीका सचिव जगदिश भट्टराइले बताउनुभयो । यसका लागि राजनीतिक तवरबाट आफूहरुले पहल गरिरहेको उहाँको दाबी छ । यस्तै स्थानीय पालिका सरकारसँग पनि समन्वय गरि पहल अगाडि बढाएकाले यस अभियानलाई सार्थक बनाएरै छाड्ने उहाँको भनाइ छ । 

यता जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले केही वर्ष पहिले इलाका प्रशासन  राख्ने बारेमा छलफल भएको र सर्वपक्षिय रुपमा स्थानका लागि सहमति नहुँदा रोकिएको बताउनुभयो । त्यस क्षेत्रका लागि इलाका प्रशासन आवश्यक रहेको आफूहरुलाई पनि लागेको बताउँदै गृह मन्त्रालयले नै यसबारे निर्णय गर्न सक्ने उहाँले बताउनुभयो । 

सदरमुकामबाट विकट रहेकाले उक्त क्षेत्रका लागि सेवा प्रवाहमा आफूहरुले सक्दो प्राथमिकता दिदैँ आएको उहाँको भनाइ छ ।