• २९ माघ २०८१, मङ्गलबार

सौराहामा आजदेखि खाना उत्सव

blog

चितवन, माघ  २९  गते ।  प्रणय दिवसको अवसरमा सौराहामा आजदेखि खाना उत्सव (फुड फेस्टिभल) सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एसाेसिएसन नेपाल सौराहा चितवन (रेवान)को आयोजनामा हरेक वर्ष गरिँदै आएको खाना उत्सवको यो १९औँ सस्करण हो ।

चितवनको पर्यटन विकासका लागि उत्सव आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । उक्त उत्सवमा प्रवेश टिकटबाट प्राप्त आम्दानीले यस वर्ष पनि सौराहाको पर्यटन मार्ग सौन्दर्यीकरण गरिने आयोजकले जनाएको छ ।

उत्सवका कारण सौराहामा पर्यटक आगमनमा ४० प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । आयोजक समितिका संयोजक शम्भुप्रसाद मालीले फागुन ३ गतेसम्म चल्ने खाना उत्सवमा बहुल जातजातिहरुको झाँकीका साथै सिन्धुलीको कर्ने मगर बाजाको प्रस्तुति रहने बताउनुभयो । 

कलाकारको साङ्गीतिक प्रस्तुति, खाना प्रदर्शनी तथा प्रतियोगिता, ‘वेटर’र‘वेटरेस’बीच प्रतियोगिता, डोरी तान प्रतियोगिता, प्रथम रेवान कप महिला फुटबल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगिता हुने जनाइएको छ । रासस