• २९ माघ २०८१, मङ्गलबार

जीर्ण पुलमा क्षमताभन्दा बढी भार

blog

मीना कँडेल

कावासोती, माघ २९ गते । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा पर्ने दुम्कीबासको विनयखोलाको पुल पुस २५ मा भाँचियो । क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको मालवाहक ट्रक पुल पार गर्ने क्रममा पूर्वपट्टिको फलामको भाग भाँचिएपछि आवागमन नै बन्द भयो । 

बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गतका पुल (ट्रस्ट ब्रिज) ५० वर्षभन्दा पुराना छन् । तत्कालीन समयमा सवारी सञ्चालनको चाप र तिनले बोक्ने भार क्षमता अनुसार निर्माण गरिएको पुलमा अहिले दैनिक हजारभन्दा बढी सवारी गुड्ने गर्छन् । नयाँ निर्माण भएका पुलबाहेक पूर्वपश्चिम राजमार्ग निर्माणको समयमा बनेका पुलको भार क्षमता दोब्बरभन्दा कम रहेको विज्ञ बताउँछन् तर त्यस समयमा कति भार क्षमताको पुल निर्माण गरिएको हो भन्ने विषयमा यकिन तथ्याङ्क भने छैन । पुराना पुल ५० वर्षभन्दा पहिला निर्माण भएका हुन् । सडकमा सवारीको चाप बढ्नु र समयमै मर्मत नगर्दा जीर्ण बनेका राजमार्गका पुल भाँचिने समस्या बढ्दै गएको हो । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डमा २०३० सालमा निर्माण गरिएका पुलको संरचना एउटै प्रकृतिको छ । त्यो समयमा निर्माण गरिएका अधिकांश पुलमा ट्रसको प्रयोग गरिएको छ । मालवाहक सवारी हिँड्ने क्रममा पुल भाँचिएको यो पहिलो घटना भने होइन ।

यही सडकखण्डको मध्यविन्दु नगरपालिका–११, अरुणखोलामा २०७६ साउन २९ मा पुल भासिएको थियो । त्यसै गरी २०७३ मङ्सिर २५ मा देवचुली नगरपालिका–१३ स्थित लोकाहा खोलामा रहेको पुल पनि ना. ६ ख ३०१७ नम्बरको ट्रकको ठक्करबाट भाँचियो । यी प्रतिनिधि घटना मात्र हुन् । विभिन्न समयमा जिल्लाको गैँडाकोटमा रहेको जयश्री पुल, बहुलाखोला पुल, अरुणखोला पुल र लोकाहा पुल भाँचिएका छन् ।

ट्राफिक कार्यालय नवलपुरका प्रमुख जनकराज बन्जाराले मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ अनुसार निर्धारण गरिएको तौलभन्दा बढी भार भएका सवारीसाधनलाई भन्सार कार्यालयबाट अनुमति दिन नपाइने बताउनुभयो । तोकिएको भन्दा बढी भएको मालसामान निकालेर मात्रै दिनुपर्ने भए पनि त्यसो हुन नसकेको उहाँले बताउनुभयो । 

नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत पूर्वी खण्डको गैँडाकोटदेखि दाउन्नेसम्म साना र ठुला गरेर ३४ वटा पुल रहेका छन् । जसमध्ये अहिलेसम्म २६ वटा नयाँ पुलको निर्माण सम्पन्न भएको नारायणगढ–बुटवल सडक विस्तार योजनाका इन्जिनियर शिव खनालले बताउनुभयो । २०१९ मा शिलान्यास गरेको महेन्द्र राजमार्गलाई यस खण्डमा चार लेनको बनाउन २०७५ सालदेखि सडक विस्तारको काम अगाडि बढाइएको छ । चार लेनको सडक निर्माणसँगै राजमार्ग क्षेत्रमा नयाँ पुल पनि निर्माण भइरहेका छन् ।