राजन रावत
हुम्ला माघ २९ गते । उत्तरी नाम्खा गाउँपालिका– ५ मा तीन वटा प्रहरी चौकी स्थापना भएर सञ्चालनमा रहेका छन् । चीनसँगको सीमा नाकासमेत रहेको वडा भएको कारण पन तीन वटा प्रहरी चौकी स्थापना भएका हुन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले नाम्खा गाउँपालिका– ५ मा तीन वटा प्रहरी चौकी स्थापना भएर सञ्चालनमा रहेको बताउनुभयो । पहिलो साबिकको गाविस हुँदा मुचु गाउँ विकास समितिको मुचुमा मात्र पञ्चायती व्यवस्थामा स्थापना भएको प्रहरी ठाना भए पनि बहुदलीय व्यवस्थापछि प्रहरी चौकीमा परिवर्तन गरिएको थियो ।
उत्तरतर्फको सम्पूर्ण नामा सो प्रहरी चौकीबाट हेर्ने गरिएको थियो । सङ्घीयतापछि सीमा सुरक्षा चौकी हिल्सा स्थापना गरिएको बताउँदै उहाँले त्यसपछि एउटा वडामा दुई वटा प्रहरी चौकी रहेको बताउनुभयो । पछि सीमा सुरक्षा चौकी हिल्सालाई सहयोग गर्ने उद्देश्यले सोही वडाका यारीमा प्रहरी चौकी स्थापना गरिएको हो । हाल मुचुमा रहेको प्रहरी चौकीमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा चौकी सञ्चालन हुँदै आएको छ भने हिल्सामा रहेको सीमा सुरक्षा प्रहरी चौकी प्रहरी सहायक निरीक्षकको नेतृत्वमा रहेको छ । यता भरखरै स्थापना भएको यारी प्रहरी चौकी भने प्रहरी हवलदारको नेतृत्वमा सञ्चालन भएको छ ।
नेपालका हिमाली जिल्लाहरूमा एउटै वडामा तीन वटा प्रहरी चौकी रहेको जिल्लामा हुम्ला पनि पर्ने उहाँले बताउनुभयो । एउटा प्रहरीबाट अर्को प्रहरी चौकीमा पुग्न गाडीमा एक एक घण्टा समय लाग्ने गर्छ । हाल तीन वटै प्रहरी चौकीमा दरबन्दी अनुसार जनशक्ति भने रहेको छैन । एक वर्ष अगाडिसम्म हिल्सामा रहेको सीमा सुरक्षा प्रहरी चौकी हिउँदमा चार महिनाका लागि हिल्साबाट मुचुमा सार्ने गरिन्थ्यो ।
सशस्त्र प्रहरीको सीमा सुरक्षा प्रहरी हिल्सामा स्थापना भएर बाह्र महिना बस्न थालेपछि प्रहरी चौकी हिल्सामा पनि नेपाल प्रहरीको जनशक्ति बस्न थालेको हो । एक आपसमा समन्वय गरेर प्रहरी चौकीले काम गर्ने गरेको कारण सिमानामा सुरक्षा दिन सहज भएको उहाँले बताउनुभयो ।