• २९ माघ २०८१, मङ्गलबार

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता

blog

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री चेतनारायण आचार्य ।

बुटवल समाचारदाता

बुटवल, माघ २९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताउनुभएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसका अवसरमा सोमबार बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुशासन प्रवर्धन, जवाफदेहिता, गुनासो सुनुवाइ र सार्वजनिक सेवा प्रवाहलाई गतिशील बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री आचार्यले राजनीतिक अस्थिरताका कारण सुशासनको क्षेत्र खलबलिएको भए पनि अहिले स्थिरता कायम भएको उल्लेख गर्दै भ्रष्टाचार अन्त्यका लागि नागरिक साझेदारी अनिवार्य रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “हामीले सुशासन प्रवर्धन गर्न सके भ्रष्टाचार आफैँ समाप्त हुँदै जान्छ । त्यसका लागि सबै तहबाट इमानदार प्रयास आवश्यक छ ।” 

प्रदेश सरकारले सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर पाँचबर्से रणनीतिक कार्ययोजना लागु गरिसकेको बताउँदै आफूले मुख्यमन्त्रीको पदबहाली गर्दैगर्दा नै भ्रष्टाचारविरुद्ध रणनीतिक योजना बनाउने निर्णय गरेको जानकारी गराउनुभयो । 

मुख्यमन्त्री आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकालाई सकारात्मक बनाउन आग्रह गर्दै साना साना विषयमा पत्र काटेर जनतालाई दुःख दिने कार्य उचित नभएको उल्लेख गर्नुभयो । उहाँले पुर्जा नभएको जग्गामा संरचना बनाउन नहुने भन्दै अख्तियारले पत्र पठाएकाले सार्वजनिक भवन, विद्यालय तथा स्वास्थ्य संस्थाका भवन निर्माणमा समस्या आएको उल्लेख गर्नुभयो । 

मुख्यमन्त्रीले सुशासन प्रवर्धनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै प्रदेश सरकारले भ्रष्टाचार नियन्त्रणको अभियानलाई थप सशक्त बनाउँदै जनतामुखी प्रशासनको अवधारणा कार्यान्वयन गर्दै लैजाने उल्लेख गर्नुभयो ।