तम्घास समाचारदाता
तम्घास, माघ २९ गते । गुल्मीमा वन्यजन्तुबाट खाद्यबाली र पशुधनको क्षति भएका किसानले लामो समयदेखि राहत पाउन सकेका छैनन् । आर्थिक वर्ष २०८०/८१ को साउन महिनादेखि राहत सहयोगका लागि किसानले निवेदन दिए पनि राहत पाउन नसकेको किसानले गुनासो गरेका छन् ।
डिभिजन वन कार्यालय गुल्मीमा वन्यजन्तुबाट भएको बालीनाली र पशुधन क्षतिका लागि १०५ जना किसानले निवेदन दिएका छन् । जस अन्तर्गत ४२ जना किसानको बालीनाली र ६३ जनाले पशुधनमा क्षति पुगेको छ । किसानले निवेदन दिएको डेढ वर्षसम्म पनि राहत नपाएपछि अब राहत पाउने आशा हराउँदै गएको कृषक डोरबहादुर घर्तीले बताउनुभयो ।
चितुवाले खोरमा पसेर माउबाख्रा खाइदिएपछि राहतका लागि मुचुल्का बनाएर कार्यालयमा निवेदन दिएको उहाँले बताउनुभयो । किसानले दिएको निवेदनका आधारमा जिल्लामा रहेको मूल्याङ्कन समितिले राहतका लागि प्रदेश मन्त्रालयमा सिफारिस गरी पठाउने गर्दछ ।
राहतका लागि माछा वा कुखुराको हकमा मूल्याङ्कनका आधारमा वर्षमा एक पटक बढीमा १० हजार रुपियाँ, बाख्राको हकमा प्रतिबाख्रा १० हजार र गाईभैँसी, राँगो, उन्नत जातको गाई, घोडा, खच्चड, चौँरीलगायतको हकमा ६० हजार रुपियाँसम्म क्षतिपूर्ति दिने व्यवस्था रहेको डिभिजन वन कार्यालय गुल्मीका वरिष्ठ वन अधिकृत मदन सापकोटाले जानकारी दिनुभयो । उहाँले प्रदेशमा बजेट सुनिश्चित नभएका कारण किसानलाई समयमा राहत उपलब्ध गराउन नसकिएको बताउनुभयो ।