• २९ माघ २०८१, मङ्गलबार

संविधान संशोधन राष्ट्रिय सहमतिमा : डा. कोइराला

blog

गोरखापत्र समाचारदाता 

भक्तपुर, माघ २९ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनका सन्दर्भमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताउनुभएको छ । जिपी कोइराला प्रतिष्ठानले ‘राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ शीर्षकमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले संविधान संशोधनमा साझा दृष्टिकोण बनाउनुपर्ने बताउनुभएको हो । 

उहाँले भन्नुभयो, “नेपाली कांग्रेस, नेकपा (एमाले) सँगै नेकपा माओवादी केन्द्र, मधेशकेन्द्रित दलसहित सरोकारवालासँग कुरा गरेर साझा दृष्टिकोण बनाएर मात्रै अघि बढ्नु पर्छ । निर्वाचन प्रणालीलाई संशोधन गर्नु पर्छ । १६५ सिट प्रत्यक्ष राखेर त्यसमै सबैको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरिनु पर्छ ।” उहाँले भूमिसम्बन्धी विधेयक, प्रहरीसम्बन्धी विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयक जस्ताको तस्तै पारित गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “यी विधेयकमा प्रश्न उठेका छन् । त्यसैले अभिव्यक्ति स्वतन्त्रताविरुद्ध जानुहुँदैन ।” उहाँले संसद् पुनस्र्थापनादेखि नेपाललाई शान्ति प्रक्रियामा अघि बढाउनका लागि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । 

कांग्रेस नेतृ एवं प्रतिष्ठानका अध्यक्ष सुजाता कोइरालाले पूर्वप्रधानमन्त्री कोइरालाले कांग्रेसलाई साङ्गठनिक सुदृढीकरणमार्फत अघि बढाएको बताउनुभयो । उहाँले अब कांग्रेस नेतृत्व परिवर्तनपछि देश नयाँ गतिमा अघि बढ्ने बताउनुभयो ।