देवराम प्रसाद यादव
सप्तरी, माघ २८ गते । सप्तरीेका किसानहरू पछिल्लो समय हिउँदे मकै खेतीतर्फ आकर्षित हुन थालेको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । कृषि ज्ञान केन्द्र सप्तरीेका कार्यालय प्रमुख किसुनदेव राउतका अनुसार यस वर्ष सप्तरीमा ५ हजार २ हेक्टर क्षेत्रफलमा हिउँदे मकै खेती गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १ हजार १८२ हेक्टरले बढी हो ।
कार्यालय प्रमुख राउतका अनुसार गत वर्ष ३ हजार ९ सय हेक्टरमा मात्र हिउँदे मकै खेती गरिएको थियो, जसबाट २२ हजार ५ सय ९ मेट्रिक टन उत्पादन भएको थियो । उहाँले गत वर्ष मकै उत्पादन प्रतिहेक्टर ४ दशमलव ५ मेट्रिक टन रहेको जनाउँदै यस वर्ष भने क्रप कटिङ नभएकोले उत्पादनको यकिन तथ्याङ्क निकाल्न नसकिएको बताउनुभयो ।
हिउँदे मकै खेतीलाई अझ प्रविधिमैत्री बनाएमा किसानहरूको आम्दानी थप वृद्धि गर्न सकिने जनाउँदै कृषि ज्ञान केन्द्र सप्तरीले किसानहरूले उचित समयमा सिँचाइ, मलखाद व्यवस्थापन तथा कीट नियन्त्रण गरेमा उत्पादन अझ राम्रो हुने जनाएको छ । जिल्लामा सबैभन्दा बढी सप्तकोशी, कञ्चनरुपा हनुमाननगर कालिनी, शम्भुनाथ, खडक, सुरुङ्गा, नगरपालिका र अग्नीसायर कृष्णासवरण, रुपनी, तिरहुत, महादेवा गाउँपालिकामा हिउँदे मकै खेती बढी भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख राउतका अनुसार विशेषगरी तिलाठी कोइलाडी, छिन्नमस्ता, राजगढ, विष्णुपुर, बलान विहुल गाउँपालिका र राजविराज, डाकनेश्वरी, बोदेबरसाइन, नगरपालिकामा लगायतका गाउँहरूमा किसानहरूले पनि छिटफुट रूपमा हिउँदे मकै खेती गरिरहेका छन् ।
सप्तकोशी नगरपालिका–४ बलारदहका कृषक दिपेन्द्र यादवका अनुसार हरियो मकैको बजार मूल्य राम्रो पाइएको र सहजै बिक्री हुने भएकाले सप्तरीका किसानहरू व्यावसायिक रूपमा हिउँदे मकै खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
यस्तै स्थानीय कृषक रामकुमार चौधरीका अनुसार, सप्तरीमा हिउँदे मकै लगाउनेहरू बढ्दै गएका छन् । चौधरीका अनुसार हिउँदे मकै राम्ररी उत्पादन गर्न सके, बजारमा हरियो मकैको राम्रो मूल्य पाइने गरेको बताउनुहुँदै फागुन–चैतमा बिक्री गर्दा हामीले प्रतिकिलो राम्रो मूल्य पाउने गरेकोले किसानहरू हिउँदै मकै खेती तर्फ आक्राेसित हुने गरेको बताउनुभयो ।