काठमाडौँ, माघ २८ गते । यस वर्षको एनएसजेएफ अग्रज खेलकुद पत्रकारिता अवार्डबाट वरिष्ठ पत्रकार श्रीविक्रम भण्डारी र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट विनयज्योति सापकोटा सम्मानित हुनुभएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले २९औँ स्थापना दिवसका अवसरमा सोमबार मेरो खेल डटकमका सम्पादक भण्डारी र कान्तिपुर टेलिभिजनका सापकोटालाई सम्मान गरेको हो । अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन भन्ने नाराका मञ्चले हरेक वर्ष स्थापना दिवसको अवसरमा यो अवार्ड दिँदै आएको छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, बागमति प्रदेश खेलकुद परिषदका सदस्य रवि महर्जनले भण्डारीलाई २५ हजार नगद, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
सुदूरपश्चिमको डडेलधुरामा जन्मिनुभएका भण्डारीले २०४४ सालदेखि खेलकुद पत्रकारिता गर्दै आउनुभएको छ । यस्तै सापकोटा पछिल्ला ६ वर्षयता खेलकुद पत्रकारितामा सक्रिय हुनुहुन्छ । सम्मान कार्यक्रममा भण्डारीले तीन दशक अगाडि आफूहरूले स्थापना गरेको संस्थाबाट सम्मानित हुन पाउॅंदा खुसीको सीमा नै नरहेको बताउनुभयो ।
युवा पत्रकारिता पुरस्कार प्राप्त गरेका सापकोटाले एनएसजेएफद्वारा प्रदान गरिॅंदै आएको यो अवार्ड एकदिन आफूले पनि हासिल गर्ने लक्ष्य लिएको र आज लक्ष्य पूरा भएको बताउनुभयो ।