राजु लामिछाने
रुकुमपश्चिम, माघ २८ गते । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा तोडफोड भएको छ । सोमबार नगरपालिकाको आर्थिक प्रशासन शाखामा तोडफोड हुनका साथै कर्मचारीहरुलाई अभद्र व्यवहार र गालिगलौज भएको भन्दै सेवा प्रवाह समेत बन्द भएको छ ।
आठबिसकोट नगरपालिकामा कार्यरत कर्मचारीहरुले एक संयुक्त विज्ञप्ती जारी गरेर घटनाबारे जानकारी गराएका छन् । उनीहरुले आर्थिक प्रशासन शाखामा केहि जनप्रतिनिधि, निर्माण व्यवसायी र उपभोक्ता समितिका प्रतिनिधिहरु प्रवेश गरेर अभद्र व्यवहार तथा गाली गलौज गर्नका साथै शाखामा रहेका सामाग्रीहरु तोडफोड गरेको जनाएका छन् । विज्ञप्तीमा तोडफोेडको कार्यले शाखाका महत्वपूण अभिलेख, श्रेष्ता तथा कागजातमा क्षति पुगेको उल्लेख गरिएको छ ।
यस विषयमा आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमले नगरपालिकाभित्रका विभिन्न सडक मर्मतका योजनाहरुको भुक्तानीको विषयमा असन्तुष्ट विभिन्न व्यक्तिहरुले नगरपालिकाको आर्थिक प्रशासन शाखा तोडफोड गरेको जानकारी दिनुभयो । अनुगमन समितिले योजनाको विषयमा तयार पारेको प्रतिवेदनमा उल्लेखित टिप्पणीको विषयलाई लिएर भुक्तानीको प्रक्रियामा रहेको कामलाई प्रभाव पार्ने, दवाव दिने गरी गलत कार्य भएको उहाँले उल्लेख गर्नुभयो । तोडफोडबाट शाखाको टेबल, दराजका साथै केहि कागजातमा समेत क्षति पुगेको छ ।
जानकारी अनुसार नगरपालिकाका उप प्रमुख धनकुमारी शाहीको संयोजकत्वमा रहेको अनुगमन समितिले विभिन्न सडक मर्मत सम्भारको काम पुर्ण रुपले नभएकोले ४० प्रतिशत रकम मात्र भुक्रानी गर्न मनाशिव हुने टिप्पणी गरेको थियो । त्यसपछि योजना मर्मतको काममा संलग्न केहि जनप्रतिनिधि, निर्माण व्यवसायी र उपभोक्ता समितिका व्यक्तिहरु रुष्ट बनेका थिए । उनीहरुले नै आज लेखा शाखामा तोडफोड गरेको बताइन्छ ।
नगरपालिकाको सेवा प्रवाहमा केहि समस्या भएमा वार्ता, गुनासो, कानूनी प्रक्रिया मार्फत समाधान गर्नुको साटो कार्यालय नै तोडफोड गर्नु अराजक हर्कत भएकोले संलग्न व्यक्ति उपर कारबाहिको माग गरिएको छ । कर्मचारीले बिज्ञप्ती प्रकाशन गरेर कार्यालयमा काम गर्ने सुरक्षित वातावरणको माग गरेका छन् । उनीहरुले सुरक्षित रुपमा काम गर्ने वातावरण नभएकोले नगरपालिका मातहतका सम्पूर्ण शाखा, फाँट, ईकाई, वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा स्थगत भएको समेत जनाएका छन् ।