विजयकुमार साह
ढल्केबर, माघ २८ गते । धनुषाको धनुषाधामा बाँस सामग्री प्रदर्शनी राखिएको छ । हाबिटाट फर ह्युमनिटी नेपालको सहयोग तथा सामुदायिक सुधार केन्द्र धनुषाको साझेदारीमा दुईदिने बाँस साम्रगीको प्रदर्शनी राखिएको हो ।
बाँसको उपयोगिता बढाउँदै वातावरणमैत्री उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी राखिएको सामुदायिक सुधार केन्द्रका अध्यक्ष सञ्जयकुमार साहले बताउनुभयो । कङ्क्रिट र काठको विकल्पका रुपमा बाँसको प्रयोग बढाउनुपर्ने बताउँदै प्रशोधित बाँसले निर्माण गरिएको घर पक्की जस्तै टिकाउ हुने जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्ला वर्षमा बाँस सामग्रीको उपयोग कम हुँदै गएको छ । बाँस सामग्रीको सट्टा सिल्भर, स्टिल, जस्ता पाता, प्लास्टिकका सामानले बजार पाउन थालेको छ । प्लास्टिकजन्य सामग्रीले वातावरण प्रदूषण र स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएकाले बाँसका सामग्रीको प्रयोग बढाएर दिगो प्राकृतिक वस्तुको प्रभावकारी उपयोग गर्न सकिने अध्यक्ष साहले बताउनुभयो ।
उहाँले बाँस छिटो हुर्कने वनस्पति भएकाले यसलाई आर्थिक समृद्धिको माध्यम बनाउन सकिने उल्लेख गर्दै नेपाली समाजमा जन्मदेखि मृत्युसम्म बाँसको उपयोग हुने र यसले रुखभन्दा बढी अक्सिजन दिने तथा कार्बन उत्सर्जन गर्ने भएपनि बजार व्यवस्था विस्तार हुन नसकेको उहाँले जानकारी दिनुभयो
प्रदर्शनीमा विभिन्न प्रकारका बाँसबाट निर्मित सामग्री प्रदर्शनमा राखिएका छन् । प्रदर्शनीमा अवलोकन गर्न आउनेहरु बाँसको बहुउपयोगिता र वातावरणमैत्री उत्पादनप्रति चासो देखाइरहेको आयोजकले जनाएको छ ।