• २९ माघ २०८१, मङ्गलबार

सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

blog

काठमाडौँ, माघ २८  गते ।  प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ

सांसद सन्तोष परियारले दलित समुदायमाथि हुने जातीय विभेदविरुद्ध ठोस कानुन बनाएर अघि बढ्न माग गर्नुभयो । सांसद अब्दुल खानले गत वर्ष दुई हजार ५०७ जनामाथि बलात्कार भएको प्रहरीको तथ्याङ्क रहेको उल्लेख गर्दै प्रत्येक दिन तीनदेखि चार महिलाको बलात्कार हुने गरेको बताउनुभयो ।

यही माघ २६ गते कैलालीको बदैगोरिया गाउँपालिकामा एक किशोरीको बलात्कार भएको उल्लेख गर्दै उहाँले दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउन माग गर्नुभयो । बर्दियाको बडैया तालको सार्वजनिक जग्गा अवैधरुपमा दर्ता गरी भोगचलन गरिएकामा प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण गराउँदा पनि कारबाही नभएको सांसद खानको आरोप थियो ।

सांसद अमरेशकुमार सिंहले काठमाडौँ महानगरपालिकाले आइतबार कवाडी व्यवसायीमाथि डोजर चलाएकाले त्यस्ता काम नगर्न माग गर्नुभयो । काठमाडौँ महानगर प्रमुखले नाजीवाद वा फासीवादको अगुवाजस्तो हुन खोजेको उहाँको आरोप थियो ।

सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा १८ माघका आगलागी भई २१ गते निभाएको सुनाउँदै हाइड्रोपावरका कारण आगलागी भएकाले कानुनी कारबाहीको माग गर्नुभयो । सांसद सुमना श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षकले किन राजीनामा दिएको भनी जवाफ माग गर्नुभयो । रासस