सन्तोष दहित
दाङ (घोराही), माघ २८ गते । विकासको हिसाबले पछाडि परेको घोराही उपमहानगरपालिका–२, चाख्लीघाटमा पहिलो पटक सार्वजनिक बस सेवा सुरु भएको छ । लामो समयदेखि यातायात, शिक्षा, स्वास्थ्य, फोन तथा इन्टरनेट सुविधाबाट वञ्चित रहेका चाख्लीघाटवासी अहिले बस तथा सञ्चार सेवाको विस्तार भएपछि हर्षित भएका छन् ।
घोराही उपमहानगरपालिकाले २४ लाख रुपियाँ बजेट विनियोजन गरी सडक स्तरोन्नति गरेपछि सार्वजनिक बस सेवा सञ्चालनमा आएको वडा सदस्य तथा स्थानीय टोप बहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार ४ किलोमिटर सडक सुधार गरिएको हो । सडक अप्ठ्यारो भएका कारण विगतमा यहाँका नागरिकलाई सार्वजनिक बस चढ्नका लागि दुई घण्टासम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेकाे स्थानीय खुम वलील भन्नुभयो, "तर अहिले बस घरको आँगनमै पुगेको छ, भने हात हातमा इन्टनेट चलेपछि हामी खुशी मात्रै भएको छैनौ, अहिले बल्ला स्थानीय सरकार भएको अनुभुति गर्यौं ।"
पहिले ट्रयाक खुलेपनि गाडी सहज रूपमा चल्ने अवस्था थिएन वडा सदस्य घर्तीले भन्नुभयो, "तर गत वर्ष घोराही उपमहानगरपालिकाको सहयोगमा गरिएको सडक स्तरोन्नति पछि अहिले बस सञ्चालनमा आएको छ ।" उहाँका अनुसार सार्वजनिक यातायात सञ्चालन भएपछि चाख्लीघाट, ढुंगा हान्ने, सोरठी तथा मुलवारीसम्मका बासिन्दाले सहज यात्रा गर्न पाएका छन् ।
यसअघि यातायात नहुँदा नागरिकहरूले बजार जानका लागि प्रतिव्यक्ति १ हजार पाँचसयसम्म अटोभाडा तिर्नुपर्ने बाध्यता थियो । त्यस्तै, बिरामीलाई डोकोमा बोकेर अस्पताल लैजानुपर्ने समस्याबाट पनि उनीहरू मुक्त भएका छन् । अहिले लमहीदेखि चाख्लीघाट हुँदै बंगलाचुलीका मुलावारीसम्म बस सेवा सञ्चालन भइरहेको वडा सदस्य घर्तीले बताउनुभयो ।
तर सदाबहार यातायात सञ्चालनका लागि अर्जुन खोला र बबई नदीमा दुईवटा पुल अनिवार्य रूपमा निर्माण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । हिउँदमा बस सेवा सञ्चालन भए पनि वर्षायाममा समस्या आउने उहाँको भनाइ थियो ।
त्यस्तै, सञ्चार सेवाको अभावका कारण आफ्ना इष्टमित्र तथा आफन्तसँग कुरा गर्न एक घण्टा जति माथि लेकमा पुग्नुपर्ने बाध्यता पनि हटेको छ । घर्तीका अनुसार, घोराही उपमहानगरपालिकाको १५ लाख र नेपाल टेलिकमको ५० लाख रुपैयाँ लगानीमा चाख्लीघाटमा टेलिकमको टावर जडान गरिएको छ ।
यसपछि स्थानीयहरू घरमै बसेर फोन तथा इन्टरनेट सुविधा उपयोग गर्न पाएकाछन् । इन्टरनेट सञ्चालनमा आएपछि भिडियो कल तथा अन्य डिजिटल सेवा सहज भएको स्थानीय रिखा वलीले जानकारी दिनुभयो । यातायात र सञ्चार सेवा विस्तार भएसँगै आफूहरूले विकासको अनुभूति गर्न पाएको वलीले बताउनुभयो ।
यस्तै स्थानीय सरकार बनेपछि चाख्लीघाटको शिक्षा क्षेत्रको सुधारका लागि समेत पहल भएको वडा सदस्य घर्तीले बताउनुभो । विद्यालयको भौतिक संरचनादेखि शैक्षिक गुणस्तर सुधार भएपनि भएको उहाँले जानकारी दिनुभयो । तर यहाँ आधारभूत तहसम्म मात्र पठनपाठन हुने भएकाले कक्षा ९ र १० का विद्यार्थीहरूलाई लमही वा घोराही गएर पढ्नुपर्ने बाध्यता भने कायमै रहेको उहाँले बताउनुभयो ।
चाख्लीघाट गाउँ घोराही उपमहानगर पालिकादेखि २० किलोमिटर पूर्व तथा लमही नगरपालिकादेखि १२ किलोमिटर उत्तरपश्चिम टाढा रहेको छ ।