• २९ माघ २०८१, मङ्गलबार

मदनआश्रित भवनकाे शिल्यान्यास

blog

मुरारी अधिकारी

धादिङ, माघ २८ गते । जिल्ला सदरमुकाम धादिङबेसीमा मदनआश्रित भवन निर्माणका लागि शिल्यान्यास गरिएको छ । २०७२ सालको भूकम्पले पहिले बनेको मदन आश्रित स्मृति भवनको तला थप्न नमिल्ने भएपछि भौतिक पूर्वाधार विकास मन्त्रालय वागमती प्रदेशले नयाँ भवन निर्माणको कार्य सुरु गरेको हो ।

धादिङबेसीस्थित नेकपा एमालेको जग्गामा निर्माण गर्न लागिएको भवनको बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री अमन मास्केले शिलान्यास गर्नुभएको हो । भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मास्केले धादिङ जिल्लाको विकास र समृद्धिको लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

मन्त्री मास्केले धादिङको जनप्रतिनिधिहरुको तर्फबाट आफैले नेतृत्व लिए सरह हुनेगरी जिल्लाको विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘यो पटक धादिङमा नेकपा एमालेको तर्फबाट विजयी थोरै मात्रै जनप्रतिनिधि हुनुहुन्छ । "धेरैको माग पुरा गर्न सकिरहेको अवस्था छैन त्यसैले धादिङका सम्पूर्ण काममा म आफै जिम्मेवारी लिएर काम गर्नेछु", मास्केले भन्नुभयो, "मन्त्रालय र आफ्नो तर्फबाट प्रदेशका सबै जिल्लाहरुमा आम जनताले देखिने गरी काम गरिरहेका छौं । २०८४ साल एमालेका लागि शुभ हुनेछ ।"

नयाँ भवनको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन कार्यालय नुवाकोटमार्फत ठेक्का आव्हान गरी एक करोड २५ लाखमा निर्माण थालिएको नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जानकारी दिनुभयो । नुवाकोटको गढी चुली निर्माण सेवा कम्पनीले आगामी असार मसान्तभित्र सक्नेगरी भवन निर्माणको जिम्मेवारी पाएको छ । भवन तीन तलाको हुने र सुविधासम्पन्न सभाहल समेत रहनेछ ।