• २९ माघ २०८१, मङ्गलबार

खुवा बिक्री गरेर मासिक एक लाख आम्दानी

blog

मनहरी,  माघ २८ गते ।  हेटौँडा १७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक रु. एक लाख कमाउँदै आउनुभएको छ । उहाँ यसै पेसाबाट आत्मनिर्भर बन्दै आउनुभएको हो । उहाँको दैनिकी बिहान उठेदेखि राति अबेरसम्म खुवा घोटेर बित्ने गर्दछ । दुई वर्षदेखि खुवा व्यवसायमा लागेका श्रेष्ठको चुच्चे खोलामा उत्तम खुवा घर सञ्चालनमा छ । 

खुवा व्यवसायमा लाग्नुअघि श्रेष्ठले लामो समयदेखि किराना पसल र तोरी मेल सञ्चालन गर्नुहुन्थ्यो । गाउँघरमा उधारो धेरै हुने गरेकाले किराना पसलबाट खासै उपलब्धि हुन नसकेपछि श्रेष्ठ खुवा व्यवसायतर्फ लाग्नुभएको उहाँ बताउनुहुन्छ । 

खुवाको हब बन्दै गएको सोही स्थानमा खुवा व्यवसायलाई सम्हाल्न पुग्नुभएको उहाँले आजभोलि दैनिक तीस किलो खुवा बिक्री गर्दै आउनुभएको छ । उहाँको पसलमा खुवासँगै खुवाका विभिन्न मिठाइका परिकार, केराको मम, छोइला, पनि, पुष्टकारी उत्पादनसँगै बिक्री हुनेगर्दछ । खुवा व्यवसायमा मनग्य आम्दानी देख्नुभएका उहाँले दूधको आपूर्तिका लागि किसानलाई भैँसी किन्न लगानी गर्नुभएको छ । उहाँले भन्नुभयो, “ खुवाका लागि भैँसीको दूध आवश्यक पर्छ सोहीअनुरूप  किसानलाई रु. दस लाख लगानी गरिसकेको छु । ” परम्पराभन्दा आधुनिकता तर्फ लम्किँदै व्यवसाय गर्नका लागि उहाँले सफा, सुग्घर र आकर्षित सजावट गर्दै व्यवसायलाई अगाडि बढाइरहनु भएको छ । खुवाको हब बन्दै गएको चुच्चे खोलामा हेर्दा पनि आकर्षण तरिकाको पसल उहाँको छ । पर्यटकलाई सफा र आकर्षण देखिनुपर्छ सोही अनुरूप परिकारमा पनि सफा र स्वादिष्ट उत्पादन गर्ने गरेको उहाँको भनाइ छ । 

खुवा पेसा सम्हालेदेखि उहाँले आफ्नो व्यवसायबाट ६ कर्मचारीलाई रोजगारी दिएकोसमेत बताउनभयो । खुवासँगै खाजा नास्ता लगायतबाट मासिक रु. दस लाखको कारोबार हुने गरेको श्रेष्ठले बताउनुभयो । मासिक दूध खरिद्, खुवा पकाउने दाउरा खरिद, कर्मचारी लगायतमा मासिक साढे आठ लाख खर्च हुने गरेको बताउनुभयो । अरू पेसामा भन्दा खुवा पेसामा काम गर्दा सन्तुष्ट मिलेको उहाँको भनाइ छ । आफूसँगै परिवारलाई पनि सहयोग लिएर उहाँले खुवा व्यवसायलाई अझै बढाउने सोचमा रहेको बताउनुभयो । 

खुवा बेचेरै मासिक रु एक लाख कमाउन सकिने भएपछि उहाँले पैसा कमाउन विदेशिने युवापुस्तालाई देशमै कमाउन सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ । उहाँको पसलबाट उत्पादित खुवा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवनलगायतका जिल्लामा निर्यात हुने बताउनुभयो । कान्ति लोकपथ भएर हिँडने यात्री र खुवाका पारखीलाई आजभोलि उत्तमको खुवा पसलले आकर्षण गर्ने गरेको छ ।  खुवा व्यवसायबाट पनि आत्मनिर्भर बन्न सकिने राम्रो उदाहरण उहाँले प्रस्तुत गर्नुभएको छ । रासस