• २८ माघ २०८१, सोमबार

सञ्जीवनी फल खाएका १७ विद्यार्थी अस्पताल भर्ना

blog

अस्पतालमा भर्ना भएका विद्यार्थीहरू । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, माघ २७ गते । विद्यालय नजिकै रहेको सञ्जीवनी (स्थानीय भाषामा रतन्चोदो) को फल खाएपछि बिरामी भएका सल्यानको एक विद्यालयका विद्यार्थीहरु अस्पताल भर्ना भएका छन् । 

सल्यानको कुमाख गाउँपालिका–४ स्थित त्रिवेणी आधारभूत विद्यालयका १७ बालबालिका रुकुमपश्चिमको चौरजहारी अस्पतालमा भर्ना भएका हुन् । बान्ता आउने, रिङगाटा लाग्ने समस्या भएपछि उनीहरुलाई उपचारका लागि अस्पताल ल्याइएको हो । 

विद्यालयका प्रधानाध्यापक कल्पना शाहका अनुसार सोमबार दिउँसो विद्यालयको खाजा समयमा उनीहरुले विद्यालय नजिकै रहेको सञ्जीवनीको फल खाएको जनाएका छन् । त्यसपछि उनीहरुलाई बारम्बार वान्ता आउने, रिङगाटा आउने समस्या भएको थियो । विद्यार्थीहरु बिरामी भएपछि एम्बुलेन्स मगाएर अस्पताल ल्याइएको प्रधानाध्यापक शाहले जानकारी दिनुभयो । 

बिरामी पर्नेहरुमा कक्षा ६ मा अध्ययनरत तीनजना र अन्य शिशु कक्षादेखि चार कक्षासम्मका विद्यार्थी छन् । उहाँका अनुसार एक विद्यार्थीहरुले ‘यो फल खानेकुरा हो, बदाम जस्तै मिठो हुन्छ, मैले पहिले पनि खाएको छु’ भनेपछि अन्य विद्यार्थीले पनि खाएको खुल्न आएको छ । विद्यालय परिसरमा तारबार नहुँदा विद्यार्थीहरु खाजा समयमा बाहिर निस्कने गरेको उहाँको भनाइ छ । 

चौरजहारी अस्पतालका मेडिकल डाइरेक्टर डा. निमरोद लिम्बूले विद्यार्थीहरुले हरियो रंगको वान्ता गर्ने गरेको बताउनुभयो । सबै विद्यार्थीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उहाँले जानकारी दिनुभयो । अस्पतालमा आएका ६ वर्षदेखि ११ वर्ष उमेरका बालबालिकाहरुमध्ये केहीमा भने रिङगाटा लाग्ने, वाकवाकी मात्रै आउने लक्षण रहेको छ । अस्पतालमा आएका केही विद्यार्थी भने उपचारपछि घर फर्किएका छन् ।