गोरखापत्र अनलाइन
काठमाडौं, माघ २७ गते । थारू महिला समाज नेपालको केन्द्रीय अध्यक्षमा अनिता चौधरी निर्वाचित हुनुभएको छ । शनिबार आयोजित छैठौं राष्ट्रिय महाधिवेशनबाट समाजको अध्यक्षमा चौधरी निर्वाचित हुनुभएको हो ।
यस्तै, महिला समाजको केन्द्रीय उपाध्यक्षमा इन्दु चौधरी निर्वाचित हुनुभएको छ । महासचिवमा मायाकुमारी चौधरी निर्वाचित हुनुभयो । त्यस्तै समाजको सचिवमा सरला चौधरी, कोषाध्यक्षमा चिन्तामणि चौधरी निर्वाचित हुनुभएको छ ।
यसैगरी समाजको केन्द्रीय सदस्यहरूमा बन्दना चौधरी, सुशीला चौधरी, सीता चौधरी, सविता चौधरी, शशिकुमारी चौधरी, बबिता चौधरी, पिङ्कीकुमारी चौधरी र सुशिलाकुमारी चौधरी निर्वाचित भएका छन् ।
नवनिर्वाचितलाई पद तथा गोपनीयताको शपथ निर्वाचन अधिकृत एवं अधिवक्ता सोनु थारूले गराउनुभयो । कार्यक्रममा समाज नेपालको निवर्तमान अध्यक्ष गीता चौधरीको विदार्इ गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि रहेका थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारू महिला अब थप सशक्तिकरणमा जोड दिनुपर्ने बताउनुभयो ।
विशिष्ट अतिथि एवं थारू भासा साहित्य केन्द्रका अध्यक्ष (भाषाविद्) भुलाई चौधरीले थारूहरू मधेश प्रदेशमा भुगोलको लडाइँ हारे पनि पहिचानको लडाइँ जित्नु जरूरी रहेको बताउनुभयो । ‘हाम्रो भाषामाथि पनि आक्रमण हुँदैछ । यसका लागि सम्पूर्ण थारूहरू सचेत र जागरूक हुन जरूरी छ। पहिचान मेटाउनबाट सतर्क हुनुपर्दछ’ उहाँले भन्नुभयो ।
कार्यम्रममा अधिवक्ता बुद्धसेन चौधरी र महेश्वप्रसाद चौधरीले स्थापनाकालमा थारू महिलाहरूले हरेक आन्दोलनमा साथ दिएको र पहिचानको मुद्दालाई स्थापित गर्न ठुलो योगदान दिएको भन्दै अब आउने नयाँ नेतृत्वले उहाँहरूको पदचाप पछ्याउनुपर्ने जिकिर गर्नुभयो ।
यस्तै, थारू महिला समाज उपत्यका समितिका उपाध्यक्ष मालती चौधरीले थारु समाजमा अहिले युवायुवतीमा विकृति देखिएको बताउनुभयो । थारू समाजमा चेतनाको दियो, सचेतनाको कार्यक्रम, र महिला सशक्तिकरण गर्नुपर्ने खाँचो रहेको बताउनुभयो ।
कार्यक्रममा थारू समाजलार्इ स्थापनाकालदेखि सल्लाह र सहयोग गर्नेहरूलाई सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा अधिवक्ता महेश्वरप्रसाद चौधरी, अधिवक्ता बुद्धसेन चौधरी, थारू विद्यार्थी समाज नेपालका अध्यक्ष चन्द्रप्रसाद चौधरी, थारू विद्यार्थी समाज नेपालका पूर्वअध्यक्ष सीएन थारू, थारू भाषा साहित्य केन्द्रका महासचिव सियाराम चौधरी, स्वयम कन्स्ट्रक्शन प्रालिका प्रोपाइटर शत्रुघ्नप्रसाद चौधरी, थारू कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष प्रेमिलाल चौधरी, थारू कल्याणकारिणी सभा उपत्यका समितिका सचिव उमेश चौधरी, रामस्वागत चौधरी, धर्मलाल चौधरी, सीमा चौधरी, प्रह्लाद चौधरी लगायत रहेका छन् ।