नारद कोहार
तौलिहवा(कपिलबस्तु), माघ २७ गते । कपिलबस्तुको नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती गरिएको छ । गस्तीका क्रममा सीमा क्षेत्रमा अपराध, चोरी पैठारी, तस्करी नियन्त्रण, सीमा अतिक्रमण रोकथाम र सीमा स्तम्भको अवस्थाका साथै सीमाको किनारमा बस्दै आएका बासिन्दाको सुरक्षा समस्याबारे छलफल गरिएको हो ।
सीमा क्षेत्रमा हुने चोरी तस्करी तथा अपराध नियन्त्रणका लागि नेपाल भारत दुबै पक्षबाट संयुक्त सुरक्षा गस्ती सुरु गरिएको हो । प्रहरी चौकी मर्यादपुर, सशस्त्र प्रहरी बल डङ्गरी र भारतिय सशस्त्र सीमा सुरक्षा बल खुनुवाको टोलीले संयुक्त रूपमा नेपाल भारत दसगजा क्षेत्रमा सीमा गस्ती गरेको सशस्त्र प्रहरी निरीक्षक नवराज देवाकोटाले बताउनुभयो । टोलीले सीमास्तम्भ सङ्ख्या ५५६(५३) देखि ५५६-१(५४) स्तम्भ सङ्ख्या सम्म संयुक्त सुरक्षा गस्ती गरेको उहाँले बताउनुभयो ।
सशस्त्र प्रहरी निरीक्षक देवकोटाको नेतृत्वमा ९ जना, प्रहरी चौकी मार्यादपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक राजिव श्रेष्ठको नेतृत्वमा ५ जना र भारतिय सशस्त्र सीमा सुरक्षा बल प्रहरी निरीक्षक नवल सिंहको नेतृत्वमा ९ जनाको सहभागिता रहेको थियो । टोलीले यशोधरा गाउँपालिकाको मर्यादपुरदेखि सोमडिहसम्म संयुक्त गस्ती गरेको हो ।
यस खाले सीमा गस्ती नियमित रूपमा सञ्चालन गरिने सशस्त्र प्रहरी उपरिक्षक रामजङ्ग पाण्डेले बताउनुभयो । संयुक्त सीमा गस्तीबाट सीमा क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधी नियन्त्रण हुने अपेक्षा गरिएको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेको भनाइ छ ।