सुजल श्रेष्ठ
प्युठान, माघ २७ गते । प्युठानका गाउँगाउँका सडकलाई अहिले पक्की पुलले जोडेको छ । ६४ वटा वडा रहेको प्युठानका धेरै सडकमा पर्ने नदीमा पक्की पुल बनेपछि गाउँमा बाह्रै महिना गाडी चल्ने भएका छन् ।
प्युठानको ढाँड–तुषारा–लिवाङ जोड्ने सडकबिचमा दुई वटा नदी पर्छन् । झिमरुक गाउँपालिकाको ७ नम्बर वडा तुषारा, ८ नम्वर वडा टिमुरचौर र गौमुखी गाउँपालिकाको ६ नम्बर वडा लिवाङलाई जोड्ने उक्त सडकमा झिमरुक नदी र गोब्दी खोला पर्छन् ।
कच्ची सडक भए पनि गाउँमा यातायातको साधन चल्न थालेपछि सर्वसाधारणलाई निकै सहज भएको छ । बिचमा पर्ने दुई वटा खोलाले भने वर्खायाममा निकै सास्ती दिन्थ्यो । गाडीहरूबिचमै रोकिन्थे । कम्तीमा तीन महिना आउजाउ ठप्प हुन्थ्यो । तर अहिले उक्त सडकमा बाह्रै महिना गाडी चल्ने भएको छ । झिमरुक नदी र गोब्दी खोलामा पक्की पुल बनेपछि हिउँद बर्खा बराबर गाडी चल्ने गर्दछन् । पक्की पुल बनेपछि जनतालाई बर्खायाममा खोलाले छेक्ने डर हटेको गौमुखी गाउँपालिका–६ लिवाङका पदम बहादुर के.सी.ले बताउनुभयो ।
गौमुखी गाउँपालिका–४ पुँजामा कच्ची सडक पुगेपनि बर्खायाममा भने सधैँ यातायात बन्द हुन्थ्यो । गाउँपालिकाको मुख्य बजार केन्द्र ठुलावेशी बजार नजिकैको झिमरुक नदी तरेर जानुपर्ने भएकाले उक्त सडकमा पनि बर्खायाममा गाडी चल्न मुस्किल थियो । लुम्बिनी प्रदेश सरकार अर्न्तगत सडक पूर्वाधार विकास कार्यालयमार्फत पक्की पुल बनेपछि यो बाटो अहिले बाह्रैमास नियमित सञ्चालन हुने गरेको छ । अहिले झिमरुक नदीको किटघाटमा पक्की पुल निर्माणको काम अघि बढेपछि सहज आवतजावत हुने भन्दै स्थानीय खुसी भएका हुन् ।
झिमरुक गाउँपालिका ६ र ७ लाई जोड्ने कुटिचौर–कुता–तुषारा सडक खण्ड अन्र्तगत झिमरुक नदीमा पक्की पुल निर्माण कार्य अघि बढेको छ । “वर्षौंदेखिको स्थानीयको माग पूरा भएको छ,” स्थानीय इन्द्रमणी पोख्रेलले भन्नुभयो, “पुल बनेपछि गाउँमा बाह्रै महिना यातायात चल्नेछ ।” पुल नहुँदा अहिले झिमरुक नदी तरेर सवारी साधन वारपार गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । पुल बनेपछि हिड्डाँडा, तुषारा, दिहाल्ना, खवाङ, पुँजा, लिवाङ, रजवारा सम्मका नागरिकलाई फाइदा पुग्नेछ ।
लुम्बिनी प्रदेश अन्र्तगत सडक पूर्वाधार विकास कार्यालय प्युठान मार्फत पुल निर्माण कार्य अघि बढेको हो । चार करोड ८७ लाख ६३ हजार ४४८ रुपियाँ लागतमा पुलको ठेक्का लागेको कार्यालयका निमित्त प्रमुख चन्द्र बहादुर शाहले जानकारी दिनुभयो । ०८२ पुस २० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी ०८१ असार ११ गते निर्माण कम्पनीसँग सम्झौता भएको बताउनुभयो । कुल ४६.८५ मिटर लम्बाइको पुल बन्नेछ ।
निर्माण कम्पनी आँसु निर्माण सेवा प्युठानका प्रोपाइटर बालाजु श्रेष्ठले सम्झौता अवधिभित्रै निर्माण कार्य सम्पन्न हुने बताउनुभयो । उहाँले योजनाका लागि पर्याप्त बजेट विनियोजन नभएको भन्दै त्यसतर्फ राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रदेशमार्फत दस वटा पुल निर्माण
लुम्बिनी प्रदेश सरकारले प्युठान जिल्लामा दस वटा पक्की पुल निर्माण गरेको छ । ०७४ देखि हालसम्म जिल्लाका विभिन्न ठाउँमा दस वटा पुल निर्माण भएको सडक पूर्वाधार विकास कार्यालय प्युठानका निमित्त प्रमुख शाहले बताउनुभयो । “जिल्लामा दस वटा पुल निर्माण सम्पन्न भइसकेको अवस्था छ,” उहाँले भन्नुभयो, “ती पुलले गाउँको सडकलाई जोड्ने काम गरेको छ ।”
कार्यालयका अनुसार ढाँड–तुषारा (झिमरुक नदी), ठुलावेशी–पुँजा (झिमरुक नदी), चेरनेटा–बरौला (हरियाखोला), कोन्द्राचौर–कोचिवाङ (कुसुण्डेखोला), बाँदिकोट–गुल्मी (बालुवाखोला) पुल निर्माण भएको छ । त्यसैगरी तुषारा–टिमरचौर(गब्दीखोला), बाहाने–खवाङ (मुलघाट), दाखाक्वाडी–बर्जिवाङ (चितिखोला), बर्जिवाङ–भिंगृ(दंगालखोला) र चेरनेटा–सालघारी–डाँडागाउँ(भालुखोला) मा पुल बनेको छ ।
प्रदेश सरकार अर्न्तगत तीन वटा पुल निर्माणधिन अवस्थामा छन् । कोन्द्राचौर–आपचौर(अरङखोला), कुटिचौर–तुषारा(किटघाट) र मच्छी–पिडाल्ने–तुषारा (झिमरुक नदी) मा पुल निर्माणको काम भइरहेको सडक पूर्वाधार विकास कार्यालय प्युठानका निमित्त प्रमुख शाहले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार जिल्लाका तीन वटा स्थानमा पुल निर्माणका लागि डिपिआर निर्माण भएको छ । चेरनेटा–बरौला सडक (जाडीखोला), भिंगृ–सारी (माडीखोला) र लुङ–दोभाए (झिमरुक नदी) मा पुल निर्माणका लागि डिपिआर निर्माण भैसकेको कार्यालय प्रमुख शाहले बताउनुभयो । जसमध्ये लुङ–दोभाए (झिमरुक नदी) मा पुल निर्माणका लागि प्रक्रिया अघि बढेकोसमेत उहाँले जानकारी दिनुभयो ।