• २८ माघ २०८१, सोमबार

विश्वशान्तिका लागि त्रिपिटक वाचन

blog

त्रिपिटक वाचन अनुष्ठानमा सहभागी धर्मगुरुलगायतका धर्मावलम्बी ।

सिद्धार्थनगर समाचारदाता

सिद्धार्थनगर, माघ २७ गते । गुरुङडाँडा व्यवस्थापन समिति बुटवलको आयोजनामा विश्वशान्तिको कामना गर्दै काङ्ग्युर (त्रिपिटक) पाठवाचन अनुष्ठान शुभारम्भ भएको छ । 

शुक्रबारदेखि रामनगरस्थित गुम्बाबाट त्रिपिटक बोकेर बृहत् शान्ति पदयात्रा हिलपार्कको माथिल्लो गेटस्थित गुरुङडाँडा व्यवस्थापन समितिको भवनमा पुगेको थियो । अनुष्ठानमा रुपन्देहीसहित देशका विभिन्न जिल्लाबाट ७७ हजारभन्दा बढी भक्तजनले पूजापाठका लागि सहभागी हुने अपेक्षा गरिएको छ । बुटवलको चाँदबारीस्थित गुरुङडाँडा व्यवस्थापन समितिको कार्यालयमै हुने अनुष्ठानमा बौद्ध विद्वान् खेन रिन्पाछे शिर लामा गुरुले दान गर्ने कुरा धार्मिक आस्थासँग जोडिएको विषय भएकाले भगवान् गौतम बुद्धले पनि दानधर्मलाई प्राथमिकतामा राखेको बताउनुभयो । 

गुरुबाट काङ्ग्युर वाचन तथा पुण्य सञ्चय विषयमा धर्म देशना हुने आयोजक समितिका संयोजक जमुना गुरुङले जानकारी दिनुभयो । बौद्ध दर्शन अनुसार सबैभन्दा ठुला अनुष्ठानका रूपमा रहेको टिङ्ग्युरपछिको अनुष्ठान नै काङ्ग्युर भएको बताउँदै व्यवस्थापन समिति अध्यक्ष आसबहादुर गुरुङले कम खर्चमा पनि मोक्ष प्राप्तिका लागि अनुष्ठानमा सहभागी हुन आह्वान गर्नुभयो । सो अनुष्ठान माघ ३० सम्म सञ्चालन हुने बताइएको छ ।